खेल

सहवागद्वारा ऋषभ पन्तको समर्थनः कप्तान र टिम व्यवस्थापनको गरे आलोचना

सहवागद्वारा ऋषभ पन्तको समर्थनः कप्तान र टिम व्यवस्थापनको गरे आलोचना

कठमाडौंः भारतीय क्रिकेट टीमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्त पछिल्लो समय लगातार प्लेइङ ११ बाट बाहिर छन् । उनले अन्तिमपटक भारतमा भएको अष्ट्रेलियासँगको वानडे सिरिजको पहिलो म्याच खेलेका थिए । जुन म्याचमा भारतीय टीम १० विकेटले पराजित भएको थियो ।

अष्ट्रेलियासँगको वानडे सिरिज सकाएर न्यूजिल्याण्ड गएको भारतले त्यहाँ पनि पन्तलाई मौका दिइरहेको छैन । टी–२० क्रिकेट सिरिजको चौथो म्याच खेल्दासम्म उनी लगातार बेन्चमै बस्नुपर्ने बाध्यता छ । विस्फोटक ब्याट्सम्यानको छवी बनाएका पन्तलाई लगातार बेन्चमै राख्दा भारतीय टीम व्यवस्थापन र कप्तानको आलोचनासमेत हुन थालेको छ ।

यसैबीच भारतीय टीमका पूर्वक्रिकेटर वीरेन्द्र सहवागले टीम व्यवस्थापन र कप्तानको खुलेरै आलोचना गरेका छन् । भारतले न्यूजिल्याण्डसँग खेलेको टी–२० सिरिज अन्तर्गत चौथो म्याचमा पनि पन्तलाई प्लेइङ ११ मा मौका नदिँदा सहवागले झन् टीम व्यवस्थापनको आलोचना गरेका हुन् । उनले क्रिकबजको एक कार्यक्रमका क्रममा ऋषभ पन्तको बारेमा कुराकानी गरेका थिए ।

सहवागले उक्त कार्यक्रमको दौरानमा भनेका छन्, ‘ऋषभ पन्तलाई प्लेइङ ११ मा राखिन्न त उसले कसरी रन बनाउन सक्छन्? यदि सचिन तेन्दुलकरलाई पनि बेन्चमै राखेको भए उनी कसरी यति महान खेलाडी बन्थे होला? पन्त म्याच विनर हुन्, उनलाई अझै मौका दिन आवश्यक छ ।’ 

सहवागले यति मात्र भनेका छैनन् । उनले कप्तान विराट कोहलीबारे पनि टिप्पणी गरेका छन् । सहवागले भनेका छन्, ‘हाम्रो समयमा कप्तान बेन्चमा बसेका खेलाडीसँग कुरा गर्थे, उनीहरुको भावना बुझ्दे । मलाई थाह छैन विराट कोहली यस्तो गर्छन् कि गर्दैनन् । म अहिले टीमको सदस्य छैन । तर, समर्थक भन्छन् जब रोहित शर्माले एसिया कपका क्रममा कप्तानको जिम्मेवारी पाएका थिए । र, उनी हरेक खेलाडीसँग कुराकानी गर्दथे ।’ 

भरतले न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० सिरिजमा ४–० ले अग्रता बनाएको छ । उसले लगातार २ खेल त ‘सुपर ओभर’मा जितेको छ । न्यूजिल्याण्ड र भारतबीचको अन्तिम टी–२० भोलि (आइतबार) दिउँसो हुँदैछ । सिरिजको अन्तिम खेलमा ऋषभले पनि प्लेइङ ११ मा मौका पाउने सम्भावना बलियो रहेको भारतीय मिडियाले जनाएका छन् । अघिल्लो खेलमा रोहित शर्माले विश्राम लिएका थिए । उनको स्थानमा विकेटकीपर–सञ्जु स्यामसनले मौका पाएका थिए । 
 

ऋषभ पन्त वीरेन्द्र सहवाग

विशेष