खेल

ऋषभ पन्त ६ महिनापछि टेष्ट प्लेइङ ११ मा

ऋषभ पन्त ६ महिनापछि टेष्ट प्लेइङ ११ मा

काठमाडौंः न्यूजिल्याण्डसँगको दुई म्याचको टेष्ट सिरिजको पहिलो खेलमा भारतले खराब सुरुवात गरेको छ । उसले आफ्ना महत्वपूर्ण ५ विकेट सस्तैमा गुमाइसकेको छ । बेलिंग्टनमा टस हारेर ब्याटिङकाे माैका पाएकाे भारतले ओपनरद्धय पृथ्वी शालाई १६ र मयंक अग्रवाललाई ३४ रनमा गुमायो ।

यसपछि उसले कप्तान विराट कोहलीलाई २, चेतेश्वर पुजारालाई ११ र हनुमा बिहारीलाई ७ रनमा गुमाइसकेको छ । यो अवस्थासम्म बलिङमा न्यूजिल्याण्ड टीमका काइल जेमीसनले घातक बलिङ गरेका छन् । उनले १४ ओभर बलिङ गर्दा २ मेडनसहित ३८ रन खर्चिदै महत्वपूर्ण ३ विकेट लिइसकेका छन् । जेमीसनको यो डेब्यू टेष्ट हो । उनले डेब्यू म्याचमै कप्तान कोहली, पुजारा र बिहारीको विकेट लिइसकेका छन् ।

भारतसँगको वानडे सिरिजमा शानदार प्रदर्शन गरेका जेमीसनले टेष्टमा पनि डेब्यू गर्ने मौका पाएका हुन् । सस्तैमा ५ विकेट गुमाइसकेको भारतको इनिङ्सलाई उपकप्तान आजिंक्य रहाणे र युवा विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्त सम्हालिरहेका छन् । क्रिजमा रहाणे ३८ र पन्त १० रनमा खेलिरहेका छन् । उनीहरुबीच २१ रनको साझेदारी बनेको छ । यो समाचार तयार पार्दासम्म भारतले ५५ ओभरमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको छ ।

६ महिनापछि टेष्ट प्लेइङ ११ मा पन्तलाई मौका

ऋषभले ६ महिनापछि टेष्ट क्रिकेट खेल्ने मौका पाएका छन् । ३० सेप्टेम्बरदेखि २ अक्टूबरसम्म वेष्ट इन्डिजसँग भएको टेष्टमा अन्तिम पटक ऋषभले मौका पाएका थिए । बंगलादेश र दक्षिण अफ्रिका विरुद्धको टेष्टमा उनी बेन्चमै बसेका थिए । पन्तको स्थानमा भारतीय टीमले ऋद्धिमान शाहलाई मौका दिएको थियो । ऋषभले टेष्ट सिरिज सुरु हुनुअघि न्यूजिल्याण्डसँगको तिनदीवसीय खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

न्यूजिल्याण्डविरुद्ध भारत ऋषभ पन्त टेष्ट सिरिज

विशेष