केक खानु र देश खानुमा त धेरै नै अन्तर छ नि, कि कसो प्रधानमन्त्रीज्यू ?
पार्वती अधिकारी
प्रधानमन्त्री केपी शर्मा ओली । ओली हुन् कि गोलि हुन्, त्यो त थाहा भएन तर उहाँको बोलि चाहिं हो के । उहाँ जे बोल्नुहुन्छ, त्यो पुरा गर्नुहुन्छ, भनेर भन्न सकिन्न तर उहाँ जब बोल्नुहुन्छ तब सुन्ने मानिसहरु आनन्दले खुलेर हाँस्न सक्छन ।
हामी पत्रकारहरुले दुई चार दिनको लागि काम पाउँछौं । हेडलाइन पनि सोचिरहनु पर्दैन, उहाँको प्रत्येक डाइलग स्पेशल हुन्छन, जुन डाइलगलाई हेडलाईन बनाए पनि चर्चा बटुल्ने निश्चित हुन्छ।
केहि काम नभएर सामाजिक संजाल चलाएर बस्न बाध्य धेरै युवाहरुले आफ्नो स्ट्याटस लेख्ने काम पाउँछन् । स्ट्याटस लेखेपछि कमेन्ट र लाईक कति आयो त्यो त हेर्ने पर्यो। बेला बेला मोवाईलको नोटिफिकेसन हेर्नै पर्ने भएपछी व्यस्तता त आफैं बढीहाल्ने । यति भएपछी युवाहरु रोजगार पनि हुने, त्यो पनि प्रधानमन्त्रीको कारणले ।
प्रधानमन्त्रीको राष्ट्रप्रेम र राष्ट्रप्रति लगाव कति छ भनेर जान्न चाहानुहुन्छ भने ओलीको बोलि सुन्दा हुन्छ । उहाँले जहिल्यै ठेट नेपाली बोल्नुहुन्छ, चुमुक चुमुक, बुरुक बुरुक, नन्दी भ्रिंगी, गुरिल्ला, राईनो।। होइन होइन गैंडा यस्तै यस्तै । उहाँलाई याक्टिंग पनि दामी गर्न आउँछ, फेरि बोलि अनुसारको हाउभाउ र भाव व्यक्त गर्न पनि उत्तिकै माहिर हुनुहुन्छ । असली कलाकार बन्न चाहानेले पनि उहाँकै सिको गर्दा फलिफाप हुने । राजनीति गर्न नि पाइने, कलाकारिता छाड्न पनि नपर्ने। एकातिर देश मुस्कुराउने, अर्कोतिर दर्शक मुस्कुराउने। म प्रधानमन्त्रीको असली फ्यान हुँ । उहाँले भाषण गरिदिनुहुन्छ र त हामिले पेट मिची मिची हास्न पाएका छौं नि । धन्य प्रधानमन्त्रीज्यु।
बिहे नगरे पनि गफ त गरौँ न सम्धीज्यु’ भन्ने उक्ति हाम्रो प्रधानमन्त्रीज्युलाई नै हेरेर बनाइएको पो हो कि जस्तो लाग्छ कहिलेकाहीं त । हाम्रा प्रधानमन्त्रीले के गर्नुभएन रु चुलाचुलामा ग्याँस ल्याउने कुरा गर्नुभो, रेल दौडिरहेको सबैलाई थाहा छंदै छ , पानीजहाजको स्पिड उहाँलाई नै थाहा छ कि छैन कुन्नि रु बाटो बनिहाल्यो, दुई तिन दिन पछि कालोपत्रे उप्कियो त उहाँको के दोष रु फेरि बनाउनुपर्छ बनिहाल्छ नि ।
बाँसुरी बजाउनुभो, गित गाउनुभो , राईनोको कथा सुनाउनुभो । सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला लगाइदिएर आफ्ना हास्य व्यंग्य प्रतिभा बैकुण्ठसम्मै पुर्याउनुभो । जन्मदिन धुमधामले मनाउनुभो । केकमा राष्ट्रकै नक्सा बनाउनुभो र कुटुकुटु काटेर खानुभो । हामीले मिलाएर बुझ्न नसकेर मात्र हो , हाम्रा प्रधानमन्त्री निकै ईन्टेलीजेन्ट । उहाँले केक मार्फत नै भए पनि हाम्रो देश यसै गरि छेउ छेउबाट कुटु कुटु काटेर खाईदै छ,भनेर सांकेतिक शैलीमा देखाउन खोज्नु भएको हो ।आउनुस हामि सबैले मिलाएर बुझीदिउँ, देश खानु र केक खानुमा धेरै अन्तर छ भनेर ।
प्रधानमन्त्रीले आफ्नो जन्म दिनमा हेलिकप्टर चार्टर गरेर जन्मघरमा पुर्याईएको नेपालको नक्सा आकारको केकको बारेमा सामाजिक संजाल, सार्वजनिक सडक, चिया पसल, पार्टीपंक्तिदेखि, यात्रतत्र सर्वत्र चर्चा परिचर्चा चलिरहेको छ । उहाँका अरिंगालहरु केकको रक्षा प्रतिरक्षा र प्रतिकार्यमै ज्यान फालेर उत्रिएका छन् । तर उहाँकै भाषामा, नन्दी भ्रिंगी ३६० डिग्रीकै कोणबाट उहाँको सत्तो सराप पनि गरिरहेका छन् । आखिर प्रधानमन्त्रीले खाइसकेको केक न हो । न त उहाँका अरिङ्गालले कामना गर्दैमा अजम्बरी बुटी बनेर रहने हो, न त नन्दी भ्रिंगीले सत्तो श्राप गर्दैमा उहाँले बान्ता नै गरिदिने हो । कि कसो प्रधानमन्त्री ज्यु ?
प्रधानमन्त्रीज्यु बिमार हुँदा हामि दौडाउँदै विश्वकै सबै भन्दा राम्रो र महँगो अस्पतालमा लैजान्छौं, उहाँको दर्द हामीले महसुस गर्न सक्छौं , प्रधानमन्त्री ज्युले हाम्रो पिडा महसुस गर्न सक्नु भएको छ त ? हाम्रो गाउँमा त ज्वरो आउँदा सिटामोल किन्न जाने ठाउँसम्म पनि छैन, यो कुरा उहाँको कानसम्म कहिले पुग्ने हो ? सिटामोल नभएपछि गाउँले धामी झाक्रीलाई नै सिटामोल मान्छन, वर्षौंदेखि । त्यसैले उहाँले दिनुभएको हास्यव्यंग्य मिश्रित भाषण र जन्मदिनमा काटिएको देशको नक्शा अंकित केकको महत्व हाम्रा गाउँका बिपन्न मानिसहरुले कहिल्यै बुझ्ने हैसियतसम्म पनि राखेका छैनन ।
जनताको साग रोप्ने जग्गाहरु सिमानामा एक छाक बनाइरहेको उहाँको हेलिकप्टरबाट देखिन्छ कि नाई ?प्रधानमन्त्रीज्यु तपाईंले झुपडी रोएको कहिल्यै देख्नुभएको छ ? देख्नुभएको छैन भने हेलिकप्टरमा होईन, ३ दिन हिंडेर जानुपर्ने कर्णालीकी फुलामायाँ काकीको घरसम्म पुगेर हेर्नुस । जहाँ खोले भक्कानिन्छ, झुपडी रुन्छ, कचौराले पेट खुम्चाउँछ, अनि मानिस चाहिं हाँसेर बाँचीरहेका हुन्छन ।
जन्मदिन प्रधानमन्त्री केक नेपाल नक्सा