स्वास्थ्य

यसरी गर्नुहोस् चस्माको जतन

यसरी गर्नुहोस् चस्माको जतन

आँखा कमजोर भएर होस् या फेसनका रुप पछिल्लो समय चस्मा लगाउनेको जमात राम्रै देखिन्छ। तर चस्मा लगाउने मात्र भनेर कहा हुन्छ यसलाई राम्रोसंग जतन गर्न पनि जान्नुपर्छ। यस्ता गल्तीले चस्मा चाँडै बिग्रिन्छ :

चस्मा लगाउँदा या फुकाल्दा एउटा हातले एकातिरमात्रै समातेर प्रयोग गर्नुहुुँदैन । एकातिर मात्रै समातेर प्रयोग गर्दा चस्माको अगाडिको फ्रेम र खुट्टा जोड्ने मिलनबिन्दुमा दबाब परेर चाँडै भाँचिने या स्प्रिङ फुस्किने खतरा रहन्छ । दुवै हातले दुईतिर समातेर सन्तुलित बलको प्रयोग गरी लगाउने तथा फुकाल्ने गर्ने बानी बसाल्नुपर्छ ।

चस्माको लेन्स सिसाको छ भने सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ । त्यसैले लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुपर्छ ।

फेसनेबल बन्ने नाममा निधारमा या टाउकोमा चस्मा लगाउनु गल्ती हो । यस्तो गर्दा फ्रेम खुकुलो हुन्छ । फ्रेम खुकुलो भएको चस्मा आँखामा लगाउँदा आकर्षक देखिँदैन भने खस्ने डर पनि हुन्छ ।

टेबुल या कडा सतहमा चस्मा राख्नुपर्दा लेन्स छुवाएर नराख्नुहोला । यसरी राख्दा लेन्स घोटिने र लगाउँदा धमिलो हुन्छ। टेम्पलतर्फको भाग सतहमा छुवाएर राख्नु पर्छ । अझ खोल या बट्टामा राख्न सक्दा अझ उत्तम हुन्छ ।

जस्तो पायो उस्तै कपडाले चस्मा सफा गर्नुहुँदैन । खस्रो र फोहोर कपडाले चस्मा सफा गर्दा कोरिन्छ ।

नरम साबुन र हल्का तातोपानीले चस्मा सफा गर्न सकिन्छ । तर, ८० डिग्री फरेन्हाइटभन्दा बढी तापक्रमबाट भने चस्मालाई जोगाउनुपर्छ । प्रायः चस्माका लेन्स या फ्रेमहरू यो तापक्रममा बिग्रिने तथा खुइलिने हुन्छन् । चस्माको लेन्स सफा गर्ने केमिकल पनि पाइन्छ ।

चस्मा जतन

विशेष