मनोरञ्जन

सलमान खानले देखिनसहने यी कलाकार!

सलमान खानले देखिनसहने यी कलाकार!

बलिउडमा केही यस्ता कलाकार छन्, जसलाई अभिनेता सलमान खान  देखिसहँदैनन्। 

प्रियंका चोपडा– अभिनेत्री प्रियंका चोपडा र सलमानले पहिलो पटक फिल्म ‘मुझसे शादी करोगे’ मा सँगै काम गरेका थिए। फिल्ममा यो जोडीको प्रशंसा भएको थियो। त्यसपछि फिल्म ‘सलाम–ए–इश्क’ मा उनीहरूले जोडीका रूपमा काम गरे। दुवैबीच राम्रो मित्रता थियो। फिल्म ‘भारत’ का क्रममा उनीहरूबीच वैमनस्य भयो।

लामो समय हलिउड प्रोजेक्टमा काम गरेपछि प्रियंका फिल्म ‘भारत’ बाट बलिउडमा फर्किरहेकी थिइन्। तर, फिल्मको सुटिङ सुरु हुन पाँच दिन मात्र बाँकी रहँदा उनले फिल्म नगर्ने बताएकी थिइन्। यहीँबाट उनीहरूको सम्बन्ध चिसिएको थियो। प्रियंकाकै कारण सलमानले निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इंशाअल्लाह’ छोडेको समाचारसमेत बाहिरिएको थियो।

अर्जुन कपुर– अभिनेता अर्जुन कपुरले बलिउडमा प्रवेश गर्दाताका उनलाई गाइड गर्नेमध्ये पर्छन्, सलमान। तर, पछि उनीहरूबीच मनमुटाव भयो। उनीहरूबीच फाटो आउनुको कारण बनिन्, अभिनेत्री मलाइका अरोडा अर्थात् सलमानकी पूर्वभाइबुहारी। सलमानका भाइ अरबाज खानकी पूर्वपत्नी मलाइकासँग अर्जुनको प्रेम सम्बन्ध रहेको खबर मिडियामा आएपछि उनीहरूबीच वैरभाव भएको हो।

सलमान र अर्जुनबीच नमेटिने दूरी रहेको कुरा हालै हास्य कलाकार कपिल शर्माको कमेडी सोमा देखियो। अर्जुनको फिल्म ‘पानीपत’ गत हप्ता रिलिज भयो। फिल्मको प्रमोसन गर्न अरू कलाकार आए पनि अर्जुन आएनन्। किनकी, कपिलको सोका निर्माता हुन्, सलमान।

सञ्जय लीला भन्साली– सलमान र सञ्जय लीला भन्सालीले फिल्म ‘खामोशी’ र ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए। पछिल्लो समय सञ्जय आफ्नो फिल्म ‘इंशाअल्लाह’ मा काम गरिरहेका थिए। फिल्मको एउटा आइटम गीतमा उनले प्रियंका चोपडालाई लिने कुरा राखे।

सलमान प्रियंकासँग काम गर्न चाहन्थेनन्। उनले त्यस आइटम डान्सका लागि डेजी शाहको नाम सुझाए। दुई जनाबीच कुरा नमिलेपछि उनीहरूको सम्बन्ध बिग्रियो र सलमानले फिल्म नै छोडे।

विवेक ओबराय– अभिनेत्री ऐश्वर्या राय र सलमानको प्रेम सम्बन्ध जगजाहेर थियो। सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्या र अभिनेता विवेक ओबरायबीच मित्रता भयो। ऐश्वर्याबाट टाढा रहन सलमानले विवेकलाई धेरै पटक धम्की पनि दिएका थिए। पछि विवेकले मिडियामै सलमानको पोल खोलेका थिए। यसकारण रिसाएका सलमानले विवेकलाई कहिल्यै माफ गरेनन्। जबकि, पछि विवेकले सार्वजनिक रूपमा सलमानसँग माफी मागेका थिए। सलमानकै कारण बलिउडमा विवेकको करिअर सकिएको मानिन्छ ।

अरिजीत सिंह– गायक अरिजीतसँग पनि सलमानको ठाकठुक परेको छ। अरिजीतले जिस्किएर भनेको कुरा सलमानले गम्भीर रूपमा लिँदा उनीहरूबीच मनोमालिन्य भएको हो। एक अवार्ड कार्यक्रममा अरिजीत स्टेजमा निद्रैमा अवार्ड लिन जाँदा उनले ‘तपाईंहरूले निद्रा लगाउनुभयो’ भनेका थिए।

त्यतिखेर सलमान कार्यक्रम होस्ट गरिरहेका थिए। त्यसयता सलमानले अरिजीतको कुनै पनि गीत आफ्नो फिल्ममा राखेका छैनन्। अरिजीतले माफी मागे पनि अवार्ड समारोहमा उनले गरेको आफ्नो बेइज्जती सलमानले बिर्सेका छैनन्। –एजेन्सी

सलमान खान अर्जुन कपुर प्रियंका चोपडा कलाकार सञ्जय लीला भन्साली विवेक ओबराय अरिजीत सिंह

विशेष