मनोरञ्जन

माधव वाग्लेको 'पारस'मा अनमोल अनुबन्धित

माधव वाग्लेको 'पारस'मा अनमोल अनुबन्धित

काठमाडौं । तीन महिनामा तीनवटा फिल्ममा अनुबन्धित भएका अभिनेता अनमोल केसी मंगलबार फेरि अर्को नयाँ चलचित्र ‘पारस’मा अनुबन्धित भएका छन् । आफ्नै गृह ब्यानरको फिल्म ‘एन्टी हिरो’लाई चार महिनापछि धकेलेर उनी नयाँ फिल्म पारसमा अनुबन्धित भएका हुन् । एउटा फिल्ममा काम गरेबापत कम्तीमा ४० लाखदेखि ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने यी अभिनेताले चलचित्र धुपौरेको सम्झौता तोडेका छन् ।

धुपौरेबाहेक झरना थापाको ‘ए मेरो हजुर–४’ आफ्नै गृह ब्यानरको ‘एन्टी हिरो’मा अनुबन्धित भएका अनमोलले मंगलबार मात्र नयाँ फिल्म ‘पारस’मा काम गर्ने लिखित सम्झौता गरेका हुन् । पारसलाई चलचित्रबाट ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्दै छन् । यही फिल्मबाट आफू निर्देशनमा आएको वाग्लेले राजधानीलाई बताए । वाग्लेले यसअघि फस्ट लभ, लुट, लुट–२, मिसन पैसा, चंगाचेटजस्ता थुप्रै चलचित्र निर्माण गरिसकेका छन् ।

‘चलचित्र पारसमा अनमोललाई लिएर मैले निर्माण र निर्देशन गर्न लागेको थिएँ । यो फिल्मको स्क्रिप्ट अनमोललाई मन परेपछि मंगलबार हाम्रो सम्झौता भएको छ ।’ निर्देशक वाग्लेले अगाडि थपे, यो चलचित्रको निर्मातामा भुवन केसी हुनेछन् भने मैले यसलाई निर्देशन गर्ने भएको छु । म निर्मातामा हुन्छ कि हुन्न भन्ने अहिले निर्णय भएको छैन ।’ यो चलचित्रको छायांकन आगामी वैशाखको दोस्रो साताबाट सुरु गर्ने र आगामी दसैंमा रिलिज गर्ने पनि निर्देशक वाग्लेले बताए ।

यो चलचित्र नायक प्रधान हुनेछ । चलचित्रमा अर्का नायकका रूपमा यसअघि नै निश्चल बस्नेत चयन भइसकेका छन् । फिल्ममा रहने दुई नायिकाको चयनको क्रम जारी रहेको पनि निर्देशक वाग्लेले जानकारी गराए ।

यता चलचित्र पारसको निर्माणमा आपसी सम्झौता भएपछि आफूले निर्माण गर्ने भनेको चलचित्र एन्टी हिरोको निर्माण चार महिना पछि सारेको निर्माता एवं अभिनेता भुवन केसीले बताएका छन् । सो चलचित्रको तयारीको लागि अझै केही समय लाग्ने भएकाले अहिले पासरलाई आफूले निर्माण गर्न लागेको पनि केसीको कथन छ ।

अनमोल अहिले नयाँ फिल्म ‘ए मेरो हजुर–४’ को तयारीमा छन् । यो चलचित्रको फागुनको अन्तिम साताबाट छायांकन सुरु हुने छ । ‘ए मेरो हजुर–४’को निर्देशन झरना थापाले गर्दै छिन् । यो चलचित्रको चैत महिनाभरिमा छायांकन सकेर अनमोल पारसको छायांकनमा जोडिनेछन् । राजधानी दैनिकबाट 

अनमोल केसी

विशेष