खेल

टी–२० विश्वकपः भारतले न्यूजिल्याण्डलाई ४ रनले हरायो

टी–२० विश्वकपः भारतले न्यूजिल्याण्डलाई ४ रनले हरायो

काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्डविरुद्ध भारत ४ रनले विजयी भएको छ । भारतले दिएको १ सय ३४ रनको लक्ष्इ पछ्याएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

उसका लागि अमेलिया केरले अविजित ३४ रन बनाए पनि टीमलाई जित दिलाउन सकिनन् । यस्तै केटे मार्टिनले २५, मैडी ग्रीनले २४, राहेल प्रेसिटले १२, कप्तान सोफी डिवाइनले १२ र हेले जेन्सेनले ११ रन बनाइन् । बलिङमा भारतीय टीमका ५ बलरले समान एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

उसका लागि ओपनर शफअली बर्माले आज पनि उत्कृष्ट ब्याटिङ गरिन् । उनले न्यूजिल्याण्डविरुद्ध ३४ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै सर्बाधिक ४६ रन बनाइन् ।

यस्तै तान्या भाटियाले २३, पूनम यादवले १४, स्मृति मन्धानाले ११, जेमिमाह रोड्रिग्स र शिखा पाण्डेले १०–१० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा न्यूजिल्याण्ड टीमकी रोजमेरी मैर र अमेलिया केरले सर्बाधिक २–२ विकेट लिइन् । जारी प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । उसले पहिलो खेलमा अष्ट्रेलिया र दोस्रो म्याचमा बंगलादेशलाई हराएको थियो । न्यूजिल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको थियो ।  
 

  
 

न्यूजिल्याण्डविरुद्ध भारत टी–२० महिला विश्वकप क्रिकेट

विशेष