स्वास्थ्य

सर्लाहीको एक गाउँमा क्यान्सरको प्रकोप, ३० महिनामा २६ जनाको मृत्यु

सर्लाहीको एक गाउँमा क्यान्सरको प्रकोप, ३० महिनामा २६ जनाको मृत्यु

सर्लाहीः हरिवन नगरपालिका–५ मा अढाई वर्षमा क्यान्सरका कारण २६ जनाले ज्यान गुमाएका छन्।हरिवन–५ को सिद्धार्थ टोल, धनपति टोल, गोले टोल लगायतका गाउँमा क्यान्सर प्रकोपका रुपमा फैलिएको छ ।

‘आठजना क्यान्सरपीडित अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्,’ वडाध्यक्ष नागेन्द्र साहले भने, ‘सिंगो वडामै क्यान्सर प्रकोपको रूपमा फैलिएको छ । अन्यलाई पनि क्यान्सर भएको हुन सक्छ । यसबाट पूरै गाउँले आतंकित छन्।’

दूषित पानीका कारण गाउँमा क्यान्सर प्रकोपका रूपमा फैलिएको स्थानीय बुद्धिमान गोलेले बताए ।

सिद्धार्थ टोलका सिंहबहादुर मोक्तानलाई फोक्सोमा दोस्रो स्टेजको क्यान्सर रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका डा. सविन अधिकारीले पुष्टि गरे।

‘उहाँसहित सोही टोलका २/३ जनाको केस मैले हेरेँ,’ उनले भने, ‘त्यो ठाउँमा पिउनेपानीमा समस्या रहेको विषय थाहा भयो । बिरामीको भनाइ र उहाँहरूको अवस्था हेर्दा पानीकै कारण यो संक्रमण भएको अनुमान हामीले गरेका छौँ ।’

वडा कार्यालयले १६ जना क्यान्सरपीडितलाई उपचारका लागि सिफारिस गरिदिएको छ । त्यसमध्ये केही उपचारका क्रममा रहेका र केहीको मृत्यु भइसकेको वडाध्यक्ष साहले बताए ।

‘मेरी बहिनीलाई पनि घाँटीको क्यान्सर छ,’ उनले भने, ‘प्रत्येक पाँचमध्ये एक घरमा क्यान्सरपीडित छन् । मेरै छिमेकी दुईजना पनि क्यान्सरको उपचार गराइरहेका छन्।’

क्यान्सरले गाउँमा विकराल रूप लिए पनि यसको यकिन कारण भने खुलेको छैन । गाउँका झन्डै चार सय परिवारमा क्यान्सरको त्रास छ। बिरामीका आफन्तलाई डाक्टरले पानीका कारण यस्तो रोग लाग्न सक्ने बताएको स्थानीय मोती योञ्जनले बताइन्।

‘मेरै ससुरा बाको पनि डेढ महिनाअघि क्यान्सरकै कारण मृत्यु भयो,’ उनले भनिन्, ‘६ महिनाअघि सामान्य बिमारी भएपछि अस्पताल पुर्‍याएका थियौँ । डाक्टरले फोक्सोमा क्यान्सर भएको बताए । डाक्टरले पिउनेपानीका कारण क्यान्सर भएको भनेपछि हामीले चापाकलको पानी खान बन्द गरेका छौँ।’

सात वर्षअघिदेखि गाउँका केही चापाकलमा पहेँलो पानी आउन थालेको स्थानीय अमरलाल तामाङ बताउँछन्।

‘अहिले गाउँका कुनै पनि चापाकलको पानी पिउन योग्य छैन,’ तामाङले भने, ‘सबैजसो कलबाट गह्नाउने पहेँलो रंगको धमिलो पानी आउँछ । नुहाउँदा जिउमा डाबर आउने र एलर्जी हुने गर्छ । लुगा धुँदा पनि सफा हुँदैन ।’

क्यान्सरको त्रासका कारण केही समययता अधिकांश स्थानीयले चापाकलको पानी पिउनै छाडेका छन् । भाँडामा थापेर राख्दा पानीमा पहेँलो तर लाग्ने गरेको छ। नजिकै रहेको इन्दुशंकर चिनी उद्योगको कारण गाउँमा क्यान्सर फैलिएको आशंका स्थानीयको छ। याे खबर आजको नयाँ पत्रिका दैनिकमा सर्लाहीबाट श्रवण थापाले लेखेका छन्।

सर्लाही क्यान्सर

विशेष