टी–२० विश्वकपः दक्षिण अफ्रिकाले तोड्यो भारतको कीर्तिमान
काठमाडौंः अष्ट्रेलियामा जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत थाइल्याण्डविरुद्ध दक्षिण अफ्रिकाले इतिहास रचेको छ । दक्षिण अफ्रिकाले महिला टी–२० विश्वकपमा सर्बाधिक रनको लक्ष्य दिँदै इतिहास रचेको हो ।
उसले थाइल्याण्डलाई १ सय ९६ रनको लक्ष्य दिएर यो उपलब्धि हासिल गरेको हो । दक्षिण अफ्रिकाको विशाल रनमा ओपनर लिजेल लीले शानदार शतक बनाइन् । उनले ६० बलमा १६ चौका र ३ छक्का प्रहार गर्दै १०१ रन बनाइन् ।
यस्तै सुन लुसले ६१ र क्लो ट्रयानले २४ रनको योगदान दिइन् । १ सय ९६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको थाइल्याण्डले १९.१ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओन्निचा कमचोम्फुले सर्बाधिक २६ रन बनाइन् । बलिङमा दक्षिण अफ्रिका टीमकी शब्निम इस्माईल र सुन लुसले सर्बाधिक ३–३ विकेट लिइन् ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार दोस्रो जित हो । थाइल्याण्डले भने तीन म्याच खेल्दा सबैमा हार बेहोरेको छ ।
टुट्यो भारतको कीर्तिमान
आइसीसी टी–२० महिला विश्वकपमा दक्षिण अफ्रिकाले भारतको कीर्तिमान भंग गरेको छ । यसअघि विश्वकपमा भारतको नाममा सर्बाधिक ठूलो लक्ष्य दिने टीमको रेकर्ड थियो । उसले २०१८ को विश्वकपमा न्यूजिल्याण्डविरुद्ध ५ विकेट गुमाएर १ सय ९५ रनको लक्ष्य दिएको थियो ।
अब भारतको यो कीर्तिमान दक्षिण अफ्रिकाले तोडेको छ । आज थाइल्याण्डविरुद्ध १ सय ९५ रन बनाउँदै दक्षिण अफ्रिकाले भारतको रेकर्ड तोडेको हो । थाइल्याण्डसँगको यो म्याचमा दक्षिण अफ्रिकाका ११३ रनले विजयी भएको छ ।
महिला टी–२० विश्वकप कीर्तिमान दक्षिण अफ्रिका महिला क्रिकेट टिम