प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
पोखरा। पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वल्र्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त गरेको हो ।
यसअघि तीन दिन प्रतिकूल मौसमका कारणले प्रतियोगिता प्रभावित बनेको थियो । टिम इभेन्टमा कोरियाले अग्रता बनाएको छ । कोरिया २० अङ्कका साथ पहिलो स्थानमा रहँदा नेपाल १७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको थियो । नेपालकै अर्को टोली ‘टिम एभरेष्ट’ १३ अङ्कका साथ तेस्रो स्थानमा रहेको प्रतियोगिता निर्देशक विमल अधिकारीले जानकारी दिए ।
पुरुष एकलतर्फ कोरियाका चियोङ हा ७५० अङ्कका साथ प्रथम, जङ्गमेन चोइ ७३४ अङ्कसहित द्वितीय तथा मुनसिउव लिम ७२६ अङ्कसहित तेस्रो स्थानमा रहेको बताइन्छ । नेपालका युकेश गुरुङ ७१९ अङ्कका साथ चौथो स्थानमा रहेका छन ।
महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहेका छन । प्रतियोगीहरुले पोखराको सराङकोटबाट उडान भरेर विभिन्न स्थानमा पुगेर खपौँदीमा अवतरण गरेको थिए ।
प्रतियोगितामा २० देशका ९२ खेलाडीले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गरिहेका छन् । यस टूरबाट पाँचदेखि आठ जना खेलाडी प्याराग्लाइडिङ वल्र्डकप सुपर फाइनलका लागि छनोट गर्ने योजना छ । यस वर्ष नेपालसहित इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडीहरु ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्था ९ना०का निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए।
प्याराग्लाइडिङ च्याम्पियनसीप