खेल

अब यी तीन खेलाडीलाई भारतीय टिममा मौका पाउन मुश्किल!

अब यी तीन खेलाडीलाई भारतीय टिममा मौका पाउन मुश्किल!

काठमाडौंः आइतबार मात्रै भारतीय क्रिकेट टीमले न्यूजिल्याण्डसँगको पाँच खेलको टी–२० सिरिज ‘क्लिन स्विप’ गर्न सफल भयो । यसले पनि जनाउँछ पछिल्लो समय भारतीय टीम टी–२० प्रारुपमा पनि उत्कृष्ट लयमा छ । अष्ट्रेलियामा हुने आइसीसी टी–२० विश्वकप नजिकिँदै गएसँगै भारतीय टीम झन् उत्कृष्ट लयमा देखिन्छ । न्यूजिल्याण्डसँग भएको टी–२० सिरिजमा भारतीय टीमका केएल राहूल, रोहित शर्मा, जसप्रीत बुमराह लगायतको प्रदर्शन उत्कृष्ट रह्यो । साथै टीमका अन्य खेलाडीले पनि सन्तोषजनक प्रदर्शन नै गरे ।

यो सिरिजका कारण कयौं खेलाडीले आसन्न टी–२० विश्वकप खेल्ने स्थानसमेत बनाइसकेको भारतीय मिडियाले लेखेका छन् । टीममा सामेल गरेका अधिकांश खेलाडीको शानदार प्रदर्शनका कारण विभिन्न कारणले टोली बाहिर रहेका खेलाडीको ‘कमब्याक’मा समेत असर पर्नसक्ने भारतीय सञ्चार माध्यमले लेख्न थालेका छन् । टीममा सामेल गरेका नयाँ खेलाडीले अपेक्षाकृत प्रदर्शन गरिरहेकाले चोटका कारण टोली बाहिर रहेका खेलाडीलाई ‘कमब्याक’ गर्न सजिलो पक्कै छैन । यसैबीच आज तीन खेलाडीको बारेमा चर्चा गर्दै छौं जो अहिले टीमभन्दा बाहिर छन् । 

३. ऋषभ पन्तः ऋषभ भारतीय टीमका विस्फोटक युवा ब्याट्सम्यान हुन् । उनी उत्कृष्ट ब्याटिङका साथै विकेटकीपिङ पनि गर्छन् । पन्त केही वर्षयता भातीय टीमका नियमित सदस्य बनेका छन् । तर, अब उनलाई टीममा फर्किन केही गाह्रो हुने स्थिति आएको छ । अवसर पाउँदा पनि प्रशस्त रन बनाउन नसकेकै कारण उनको ‘कमब्याक’ सजिलो छैन । लगातारको खराब लयकै कारण टीममा समावेश गरेको भन्दै केही समयता उनको आलोचना पनि व्यापक भइरहेको छ ।

पन्तले अन्तिमपटक अष्ट्रेलियासँगको वानडे सिरिजको पहिलो म्याच खेलेका थिए । त्यसयता टीममा भए पनि प्लेइङ ११ मा भने अटाउन सकेका छैनन् । उनको भूमिका केएल राहूलले निर्वाह गरिरहेका छन् । र, राहूल उत्कृष्ट कीपिङका साथ शानदार ब्याटिङ पनि गरिरहेका छन् । यदि पन्तको खराब लय कायमै रहने हो भने उनी टीममा फर्किने सम्भावना अब कमजोर बनेको छ । 

२. भुवनेश्वर कुमारः भारतीय टीमका स्टार फास्ट बलर भुवनेश्वर पछिल्लो समय हर्नियाको अप्ररेशनका कारण टोली बाहिर छन् । उनी तीनै प्रारुपमा भारतीय टीमका महत्वपूर्ण सदस्य हुन् । तर, पछिल्लो समय भुवनेश्वर लगातार चोटका कारण समस्यामा छन् । उनले आफ्नो अन्तिम टी–२० म्याच वेष्ट इन्डिजविरुद्ध २०१९ मा खेलेका थिए । त्यसपछि भुवनेश्वर टोली बाहिर नै छन् । उनको स्थानमा भारतीय टीममा युवा बलरलाई मौका दिइएको छ । र, उनीहरुले शानदार प्रदर्शन गरिरहेका छन् ।

अहिले भारतीय टीममा शार्दुल ठाकुर, नवदीप सैनी, दीपक चाहर जस्ता युवा फास्ट बलर छन् । नयाँ बलरले पनि शानदार प्रदर्शन गरिरहेकाले अब टीममा फर्किन भुवनेश्वरलाई त्यति सजिलो छैन । उनले हालसम्म टी–२० अन्तर्राष्ट्रिय करियरको ४३ म्याचमा ४१ विकेट लिएका छन् । 

३. शिखर धवनः सन् २०१९ को एकविदसीय विश्वकपपछि शिखर धवन लगातार चोटका कारण समस्यामा छन् । लामो समयपछि उनी भारतमा भएको टी–२० सिरिजमा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । तर, अष्ट्रेलियासँगको वानडे सिरिजमा धवन फेरि घाइते हुनपुगे । र, अहिले उनी विश्राम गरिरहेका छन् ।

शिखरको स्थान अहिले भारतीय टीममा केएल राहूलले लिइरहेका छन् । राहूलले पछिल्लो समय लगातार शानदार प्रदर्शन पनि गरिरहेका छन् । ओपनरको रुपमा राहूलले उत्कृष्ट ब्याटिङ गरिरहेकाले शिखरलाई ‘कमब्याक’ गर्न अब गाह्रो हुनसक्छ । शिखरले टी–२० अन्तर्राष्ट्रिय करियरमा हालसम्म ६१ म्याचमा २८.३५ को औसतमा कूल १५ सय ८८ रन बनाएका छन् । 


  
 

भारतीय क्रिकेट टीम ऋषभ पन्त भुवनेश्वर कुमार शिखर भवन

विशेष