भिडियो Breaking News पर्यटन कभर स्टोरी

बंगलादेश र मध्यपूर्वका पर्यटक पहिलो रोजाइमा ( भिडियोसहित) 

बंगलादेश र मध्यपूर्वका पर्यटक पहिलो रोजाइमा ( भिडियोसहित) 

नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दिपकराज जोशीले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तत्काल बंगलादेश र मध्यपूर्वका पर्यटक लक्षित कार्यक्रम संचालन गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसका कारण चीन लगायत पश्चिमा मुलुकबाट आउने पर्यटक आगमन प्रभावित भएपछि उनले तत्कालका लागि बंगलादेश र मध्यपूर्वमा ध्यान केन्द्रीत गर्न सरकार र बोर्डका नयाँ प्रमुखलाई सुझाव दिएका हुन् । 

नेपाल आजसंगको विशेष कुराकानीमा जोशीले भने, ‘ हामी अझैपनि इयूको सेफ्टी लिष्टबाट बाहिर आउन सकेका छैनौ । यसबाट बाहिर आउन अझै दुई चार महिना लाग्छ । अर्कोतर्फ चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने डर छ । यसको अशर संसारभरका पर्यटकमा परेको छ । यो अवस्थामा हामीले ध्यान दिने भनेको तत्कालका लागि बंगलादेश र मध्यपूर्वमा हो । यी दुई ठाउँबाट पर्यटक तान्न तत्काल योजना बनाउनुपर्छ । यो कुरा मैले पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि भनेको छु ।’

जोशीका अनुसार बंगलादेश तीव्र आर्थिक बृद्धि गर्ने देश मध्ये एक हो । यहाँका मानिसहरु छिटोभन्दा छिटो सुविधजनक जीवन यापन गर्नेहरु मध्ये पर्छन् । उनीहरुको नेपालप्रति राम्रो सोचाइ पनि छ । यदि हामीले अलिकति मेहनत गर्ने हो भने बंगलादेशबाट मात्र डेढ लाख भन्दा बढी पर्यटक ल्याउन सक्छौं । 

मिडल इष्ट अर्थात मध्यपूर्वमा पनि हामीले ध्यान केन्द्रीत गर्न जरुरी छ । मध्यपूर्वमा संसारकै धनी भारतीय र पाकिस्तानी नागरिक बस्छन् । निकै समृद्ध पश्चिमा नागरिकहरु पनि त्यहाँ छन् । उनीहरु त्यहाँको प्रचण्ड गर्मीबाट आकुलव्याकुल छन् । उनीहरुलाई नेपालको बसन्त तथा वर्षा ऋतुमा नेपालमा सजिलै ल्याउन सकिन्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ । 

दुई तीन महिनापछि शायद कोरोना भाइरसको संक्रमण पनि नियन्त्रण होला । त्यसपछि चिनियाँ, भारतीय तथा पश्चिमा पर्यटकको आगमन स्वतः बढ्नेछ । तत्कालका लागि भन्ने हो भने भ्रमण वर्षको पहिलो एक महिनामा पर्यटक आगमन दर घटेको छ । आँकडा हेर्दा १–२ प्रतिशतले पर्यटक आगमन दर घटेको देखिन्छ । यसको मुख्य कारण कोरोना भाइरस र कनेक्टिभिटी नै हो । 

भ्रमण वर्षलाई मात्र होइन नेपालकै विकास गर्नलाई पनि पूर्वाधार विकास न्युनतम शर्त हो । ९० प्रतिशत पूर्वाधार र बाँकी १० प्रतिशतमा अन्य कुरा पर्छन् । पूर्वाधारमा पनि अझ हवाइ र सडक नै मुख्य हुन् । 

अहिले त्रिभुवन विमानस्थल पहिला भन्दा राम्रो ढंगले चलिरहेको छ । चाँडै लुम्बिनी र पोखरा विमानस्थल संचालनमा आउँदैछन् । त्यसपछि पर्यटकको फ्लो ह्वात्तै बढ्नेछ । सुरुमा केही समस्या देखिएपनि केही महिनामै पर्यटक आगमन दर बढ्ने निश्चित छ । २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य कठिन जस्तो देखिएपनि वर्षको अन्त्यसम्ममा त्यो पूरा हुने छ ।

आफू बोर्डको सिइओ हुँदा भूकम्प लगायत मुलुकको राजनीतिक अवस्था जटिल भएपनि पर्यटन क्षेत्रको अवस्था सुधार्न महत्वपूर्ण काम गरेको जोशीको दावी छ । 

उनी भन्छन्, ‘ सबैभन्दा पहिले त भ्रमणका लागि मुलुकको छवि सुधार्ने काम भयो । पर्यटक आगमन दर बढ्यो । पहिला सिजन केन्द्रीत पर्यटक मात्र थिए, अब बाह्ैमास पर्यटकका लागि ठीक छ भन्ने माहोल सृजना गरियो । नेपाल पर्वतीय गन्तव्य मात्र हो भन्ने थियो, त्यसमा सुधार गरियो । नेपालमा घुम्न लायक र हेर्न लायक सांस्कृतिक, प्राकृतिक, जैविक, भौगलिक, परम्परागत सम्पूर्ण विषयवस्तुबारे राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बुझाउन सकियो । मेरो कार्यकालमा २२ प्रतिशतले पर्यटक आगमन बढेको छ । यी सबै काम गरेकाले त अन्तर्राष्ट्रियस्तरमै मलाई सम्मान गरियो नी ! ’

जोशीका अनुसार नेपाल घुम्न आएका पर्यटकका गतिविधिबारे सरकारले अनुगमन गर्नुपर्छ । कतिपय मानिस पर्यटकको भेषमा अपराधिक काममा संलग्न हुन सक्छन् । यो विषयमा सरकार चनाखो हुनुपर्छ । पर्यटकका क्रियाकलाप ‘मोनिटर’ गर्न संयन्त्र नै बनाउन जरुरी छ । 
 

विशेष