एमसीसीको अन्ध समर्थन र विरोध दुवै अतिवाद ( भिडियोसहित)
मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देशभर बहस छेडिएकाबेला सत्तारुढ दल नेकपाले ठोस धारणा तय गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलले काम गरिरहेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको सो कार्यदलले कस्तो प्रतिवेदन ल्याउँछ भन्ने प्रतीक्षा भैरहेकाबेला सोही पार्टीका केन्द्रीय सदस्य सुदिप मल्लले भने फरक धारणा राखेका छन् ।
मल्ल भन्छन्, ‘ एमसीसीको अन्ध समर्थन र विरोध गर्नु दुवै अतिवाद हुन् । पार्टीले यसबारे वृहत अध्ययन गरी निष्कर्ष निकाल्न कार्यदल बनाएको छ । कार्यदलको प्रतिवेदन नआएसम्म एमसीसीबारे चर्का कुरा गर्नु उचित हुँदैन । संक्षेपमा भन्नुपर्दा राष्ट्रहीतमा देखिए एमसीसी पारित गर्नुपर्छ, राष्ट्रघात हुने भए खारेज गर्नुपर्छ । नेकपाको कार्यदलले सहि प्रतिवेदन ल्याउने विश्वास छ । ’
नेता मल्लका अनुसार अहिले मुलुकमा कुनैपनि विषयलाई अतिरञ्जित तरिकाले व्याख्या गर्ने लहर चलेको छ । हुँदाहुँदा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले गरेको मनोरञ्जनलाई पनि गलत व्याख्या गरिदैछ । यसलाई कला संगीतप्रतिको प्रेमकारुपमा बुझ्न किन सकिदैन ? केहीले रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ भनेर कटाक्ष गरेका छन्, त्यो उचित होइन । कला, संस्कृति र मानविय संवेदनशिलतालाई हल्काफुल्का रुपमा टिप्पणी गर्नु हुँदैन ।
केन्द्रीय समिति बैठकपछि सरकार र पार्टीमा उर्जा छाएको छ । यसले नेता कार्यकर्तामा उत्साह जगाएको छ । सरकार योजनाबद्धरुपमा विकास र समृद्धिका लागि काम गरिरहेको छ । केही अनियमितता, अराजकता, भ्रष्टाचार र जनजिविकाका सवाल छन्, तीनका विषयमा सरकार गम्भीर छ । सरकारले केही पनि गरेन भन्ने कुरा विल्कुल गलत हो । सरकारका कामको परिणाम अब देखिन सुरु हुँदैछन् ।
अहिले सरकारले भ्रष्टाचारका घटनामा भित्रि तहबाटै अनुसन्धान अघि बढाएको छ । सरकारले अनुसन्धान थालेकाले भ्रष्टाचारका घटना बढी सार्वजनिक भएका हुन् । धेरै मानिसहरुले यसलाई यही सरकारको पालामा भ्रष्टाचार भयो भन्ने अर्थमा बुझे । विगतमा भएका भ्रष्टाचारका विषय अहिले उजागर मात्र भएका हुन् ।
केन्द्रीय समिति बैठकपछि पार्टीमा पूर्व माओवादी र पूर्व एमाले भन्ने तुष पनि समाप्त भएको छ । सबै किसिमका गुट उपगुट सकिएका छन् । पार्टी भावनात्मकरुपमा एक भएको छ । सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि भैसकेको छ । बाँकी काम दुई तिन हप्तामा पूरा हुँदैछन् । अब सरकार र पार्टी आपसी समन्वयमा द्रुत गतिमा अघि बढ्ने निश्चित छ ।
बाहिरबाट सरकारलाई अधिनायकवादी र नेतृत्वलाई निरंकुश भन्ने गरेको पनि सुनिन्छ । वास्तवमा भन्ने हो भने प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड जति आलोचना पचाउन सक्ने नेता अरु छैनन् । पार्टी भित्र होस वा बाहिर सबै किसिमका आलोचना सुन्ने, आफूमा भएका कमजोरी सच्याउने र नयाँ सोचका साथ अघि बढ्ने क्षमता अध्यक्षद्वय ओली र दाहालमा अधिक छ ।
नेकपा नै असली कम्युनिष्ट विचारधाराको संरक्षक र प्रवद्र्यक भएकाले सबै कम्युनिष्ट पार्टी नेकपामा समाहित हुनुपर्ने मल्लको धारणा छ । उनी भन्छन्, ‘ मोहन वैद्यसंग क्रान्तिको मोडल नै छैन । विप्लवको अभियान नेपाल र नेपालीको हीतमा छैन । अब कम्युनिष्ट आन्दोलनको मुल प्रवाह भनेकै नेकपा हो । सबैले यही पार्टीमा आउनुको विकल्प छैन । ’
युवा नेता मल्लको नेतृत्वमा २०५८ सालमा सुर्खेत ‘जेल ब्रेक’ गरिएको थियो । तत्कालिन माओवादीमा जिल्ला पार्टी सदस्य रहेका मल्लको नेतृत्वमा जेल तोडेको घटना राष्ट्रिरुपमै चर्चित भएको थियो । त्यसबेला उनीसहित ३० जना जेल तोडेर भागेका थिए ।
मल्ल २०६० सालदेखि २०६२ सालसम्म जनमुक्ति सेनामा रहे । त्यहाँ उनी कम्पनी कमिसार हुँदै बिग्रेड कमिसारसम्म पुगे । शान्ति प्रक्रिया सुरु भएपछि उनी वाइसिएलको केन्द्रीय सदस्य रहे । पछि मोहन वैद्यले पार्टीले विभाजन गरेपछि उनी वैद्य पार्टीको काठमाडौं इन्चार्ज भए । हाल उनी नेकपाको केन्द्रीय सदस्यकारुपमा रहेका छन् ।