खेल

त्रिकोणात्मक सिरिजः अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

त्रिकोणात्मक सिरिजः अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

काठमाडौंः विश्वकप क्रिकेट लिग–२ को कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिजमा अमेरिकन टीमले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन बनायो ।

उसका लागि इयान हल्यान्डले राम्रो ब्याटिङ गरे । उनले ७८ बलमा ७ चौकाको मद्दतमा ६५ रनको योगदान दिए । यस्तै अक्षय होमराजले ४४, मोनाक पटेलले १९, तमिल पटेलले १६, जेभियर मार्शलले १३, सौरभ नेत्रवलकर अविजित १४, आरोन जोन्सले १२ र रस्टी थेरनले १० रन बनाए । बलिङमा ओमान टीमका मोहम्मद नदीमले ३, जीशान मक्सूद, बिलाल खान, अकिब इलियासले २–२ र कलीमुल्लाहले एक विकेट लिए ।

ओमान र अमेरिका अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पहिलो पटक एकअर्काविरुद्ध खेलिरहेका हुन् । लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले ८ खेलबाट १२ अङ्क बनाएको छ । ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ । यो खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउनेछ ।

बुधबार भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगको खेलमा केही सहज महसुस हुनेछ । नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ । त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ ।

८ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । जारी प्रतियोगितामा पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको छ । नेपालले आफ्नो दोस्रो म्याच शनिबार अमेरिकाविरुद्ध खेल्ने छ ।

विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज ओमानविरुद्ध अमेरिका

विशेष