घरेलु मैदानमा नेपालको पहिलो जित
काठमाडाैँ – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो जित दर्ता गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो । अमेरिकाका लागि इयान होलाण्डले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खराब सुरुवात गरेको होलाण्डले १ सय ११ बलमा ७ चौकासहित ७५ रन बनाए ।
यस्तै क्यामरुन स्टेभेनसनले १९ रन जोड्दा कारिमा गोरेले १० रन बनाए । नेपालका करण केसीले १५ रन खर्चिएर ४ विकेट लिए । यस्तै सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।
नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । विनोदले ५९ रन बनाए । विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने उनी आठौं नेपाली खेलाडी हुन् ।
जितसँगै लिगमा नेपालले २ खेलमा २ अंक जोडेको छ । नेपाल सातौं स्थानमा रहेको छ । अमेरिकाले १० खेलमा १२ अंक जोडेको छ । अमेरिका शीर्ष स्थानमा यथावत रहेको छ । यससँगै नेपालले घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित हात पारेको छ । अब नेपालले आइतबार ओमानसँग खेल्नेछ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।