मन्त्री नफापेका नेता
आफ्नो पार्टीका धेरैलाई उनले मन्त्रीको ‘जागिर’का लागि शिफारिस गरे । तात्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पटक पटक कर गर्दै भने– ‘यो पटक चाहिँ तपाईं नै आउनुस् । मिलेर काम गरौं ।’ प्रस्ताव अनुचित लागेन । सहमतिको मुन्टो हल्लाए । भूमि सुधार मन्त्रीको जिम्मेवारीसंगै सपथ पनि लिए । आन्दोलन चलिरहेको थियो । एक हप्ता त मन्त्रालय जाने वातावरण नै बनेन । नयाँ नयाँमै सचिव दिनेशहरि अधिकारीले एउटा फाइल ल्याए । सचिवलाई सोधे– ‘यो कस्तो हो ?’ सचिवले ‘सामान्य’ बताएपछि ‘सदर’ लेखेर सही धस्काइदिए । ८ वर्षपछि त्यही ‘सदर’ले चन्द्रदेव जोशीको जिन्दगीमा भूकम्प ल्याइदिएको छ । सपना, जपना खोसेको छ । स्थिर सोच अस्थिर बनेको छ । जीवनको उत्तराद्र्ध सकसपूर्ण बनेको अनुभूत भएको छ । अझ भनौं उनीमाथि सरकारी ग्रहण लागेको छ ।
आफूमाथि ८ करोड दावी सहित अख्तियारले लगाएको अभियोगको सामना गर्न त्यही इमानको हतियार छ । राज्यले बेइमान देखे पनि निष्ठाको अडानबाट भविष्यको रोडम्याप कोर्ने अठोट बोकेका जोशी भन्छन– ‘मित्र कृष्णप्रसाद भण्डारीसंग सामान्य परामर्श गरिरहेको छु । सरोकार राख्ने कागजपत्र खोज्न छोराछोरीलाई भनेको छु । मसंग वकिललाई पारिश्रमिक दिएर बहस गराउने क्षमता छैन । न्यायाधीशलाई भनेर आफ्ना कुरा राख्ने अनुमति माग्छु ।’ राज्यले उनलाई भ्रष्टको सूचिमा करार गर्दै अभियोग लगाएपनि उनले इमानको पूँजीले कमाएका शुभचिन्तकको भीडले घरमा पाइला हाल्ने ठाउँ छैन । अभियोग पत्रबाहेक समाजले उनलाई भ्रष्ट चरित्रको रुपमा स्वीकृत नदिएको स्पष्ट हुन्छ ।
८३ वर्षको उमेरमा लागेको यो अभियोगले उनीमाथि शूल गढेको छ । यद्यपि उनी कोहीप्रति पूर्वाग्रही छैनन् । बरु अख्तियारको यो दृष्टिप्रति पनि सम्मान नै छ । बाल्यकालमा पिताजीले ‘बाबु, अगाडि बढेपछि घोडाजस्तै पछि फर्किएर कहिल्यै नहेर्नू’ यो अर्ती अन्तष्करणमा गुन्जिरहन्छ । आपत परेका बेला यसले उर्जा भर्छ । नेपाली भूगोलको अन्तिम विन्दु दार्चुलाबाट गरिब बाबुआमाले हुर्काएका यिनले काम गर्दै पढ्दै गरे । यिनको राजनीतिक शुरुवात कांग्रेसबाट भयो । बीपी कोइरालासंग दार्चुलामा भएको जम्काभेटमा काठमाडौं ल्याएर पढाइदिने आश्वासन समेत पाए । तर अनुकूल मिलेन । भारतमा काम गर्दै पढ्दै गरे । त्यसपछि काठमाडौं आए । गाडीको कन्डक्टर भए । उनको नशा नशामा राजनीति दौडिसकेकाले तात्कालिन सरकारले धेरै अवसरबाट वञ्चित गर्यो ।
उनी कांग्रेस थिए । कम्युनिष्ट शासनको दबदबा भएको रुसमा छात्रवृत्ति पाए । ‘जाउँ’ कि ‘नजाउँ’ भयो । तर सानामा विदेशी भूमिमा गएर नेपालमा भएका बाउआमालाई चिठ्ठी लेख्ने इच्छा उनीभित्र मनको एक कुनामा स्थायी पाहुना भएर रहेको थियो । यही मनोविज्ञानले जितेपछि उनी रुस लागे । त्यहाँको वातावरणले उनको राजनीतिक जीवनमै ‘यु टर्न’ ल्यायो । जुलोजीमा इन्जिनीयरिङ गरेर नेपाल फर्किए । पढाइ एकातिर भएपनि उनमा राजनीतिको विकल्प राजनीतिको चाह थियो । जनताको जीवनस्तर उकास्ने इन्जिनियरिङ जोशीका लागि सर्वोपरी थियो ।
राजनीतिज्ञ भनेको राज्य निर्माण गर्ने शिल्पी हो । उसको भिजन देशको प्राण हो । उसको सुदृष्टिमा जन्मेकाको वर्तमान र नजन्मेकाको भविष्य सुरक्षित हुन्छ । कुदृष्टिमा सबैको भूत, वर्तमान र भविष्य सुरुङमार्गमा प्रवेश गर्छ । चन्द्रदेव जोशीलाई व्यवस्थापकीय दृष्टि राजनीतिज्ञहरुको इन्जिनीयरिङ कतै न कतै चुकेको भान पर्न थालेको छ । राजनीतिक इच्छाशक्तिले मुलुकको आर्थिक समृद्धि, विकास मात्र हैन, जनताको मनोवल उच्च बनाउन नसकेको जस्तो लाग्न थालेको छ ।
राजनीतिज्ञ जोशी लेखक, चिन्तक, साहित्यकार साथै सिद्धहस्त ज्योतिष पनि हुन् । उनलाई हामीले सोध्यौं– ‘आफूमाथि आउन लागेको यो आपतका विषयमा अग्रिम सूचना पाउनुभएन ? तपाईंको जन्मकुण्डलीले केही भनेन ?’ मुस्कुराउँदै भने– ‘अहँ, मसंग त्यस्तो महत्वाकांक्षा नै थिएन । मैले बेइमानीको संस्कार नै पाइन । जे छ, देखिएको छ । यो घरबास ०३६ सालमा बनाएको हो । जन्मस्थानमा पुख्र्यौली थप ५,७ रोपनीबाहेक नेपालभर मेरो कतै अरु सम्पत्ति छैन । म लेखपढमा रमाउने मानिस हुँ । अहिले पनि त्यही गरिरहेको थिएँ । जब यो प्रकरण आइलाग्यो, मस्तिष्क र दृष्टि दुवैले काम गर्न छोडेको छ । हेरौं, भविष्यमा के हुन्छ ? जे होला राम्रै होला ।’
चन्द्रदेव जोशी