खेल

नेपालद्वारा अमेरिकालाई १९१ लक्ष्य, विनोद र कुशलको अर्धशतक

नेपालद्वारा अमेरिकालाई १९१ लक्ष्य, विनोद र कुशलको अर्धशतक

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनायो । उसका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए ।

मल्लले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनको यो डेब्यू म्याच हो । कुशल सर्वाधिक सानो उमेरमा डेब्यू म्याचमै अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडीसमेत बनेका छन् । उनले १५ वर्षकै उमेरमा ओडीआई क्रिकेटको डेब्यू म्याचमै अर्धशतक बनाएका हुन् । यस्तै नेपालका लागि आज विनोदले ७९ बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्ल २१, पारस खड्का १९, करन केसी १२ र सुशन भारी ११ रनमा आउट भए । नेपालका अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा अमेरिकन टीमका क्यामरन स्टीभेन्सनले सर्बाधिक ३ विकेट लिए ।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, र सन्दीप लामिछाने ।

त्रिकोणात्मक क्रिकेट सिरिज नेपालविरुद्ध अमेरिका विश्वकप लिग–२

विशेष