त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध नेपाललाई आज बदला लिने मौका
काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा ओमानको सामना गर्दैछ । ओमान–नेपालबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।
टी–२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित हासिल गर्न सकेको छैन । नेपाल आज ओमानविरुद्ध उत्रदा सात वर्षपछि जित निकाल्ने लक्ष्यमा हुनेछ । लिग–२ मा ६ म्याच खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । उसले अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।
जारी सिरिजमा नेपालले अमेरिकालाई हराउँदै जित सुरुवात गरेको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आज पनि नेपाल जितकै लक्ष्यका साथै मैदान उत्रिने छ । आजको खेलमा नेपाली टीममा खासै परिवर्तन देख्न पाइने छैन । शनिबार अमेरिकाविरुद्ध जित हासिल गरेकाले नेपालले त्यही खेलको प्लेइङ सेटलाई मैदान उतार्ने सम्भावना बलियो छ ।
ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने ।
बेन्चः रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी ।
त्रिकोणात्मक सिरिज ओमानविरुद्ध नेपाल