त्रिकोणात्मक सिरिजः ओमानविरुद्ध कप्तान मल्लको शानदार अर्धशतक
काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत ओमानविरुद्ध नेपाली टीमका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । उनले ७० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा कप्तान मल्लको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पहिलो अर्धशतक नेदरल्याण्ड्सविरुद्ध बनाएका थिए ।
टस हारेर ब्याटिङको मोका पाएको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर १ सय २८ रन बनाएको छ । आजको खेलमा नेपाली टीमका युवा तिव्र गतिका बलर कमलसिंह ऐरीले डेब्यू गरेका छन् । उनले अविनाश बोहरालाई रिप्लेस गर्दै डेब्यू गरेका हुन् । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।
टी–२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित हासिल गर्न सकेको छैन । नेपाल आज ओमानविरुद्ध उत्रदा सात वर्षपछि जित निकाल्ने लक्ष्यमा हुनेछ । लिग २ मा ६ म्याच खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ । प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । उसले अमेरिकालाई पनि ६ विकेटले हराएको थियो ।
जारी सिरिजमा नेपालले अमेरिकालाई हराउँदै जित सुरुवात गरेको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आज पनि नेपाल जितकै लक्ष्यका साथै मैदान उत्रिएको छ । ओमानविरुद्ध
नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी, विनोद भण्डारी, करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने ।
बेन्चः रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा ।
त्रिकोणात्मक सिरिज ओमानविरुद्ध नेपाल