खेल

नेपालद्वारा ओमानलाई २५० रनको लक्ष्य, कप्तान मल्लको अर्धशतक

नेपालद्वारा ओमानलाई २५० रनको लक्ष्य, कप्तान मल्लको अर्धशतक

काठमाडौंः आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई २ सय ५० रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले ७६ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५६ रनको योगदान दिए । यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख, कुशल मल्लले २८–२८, सुवास खकुरेलले २२, करण केसीले १० र सन्दीप लामिछानेले १० र कमलसिंह ऐरीले नटआउट ९ रन बनाए ।

बलिङमा ओमान टीमका अकिब इलायसले ४ र मोहम्मद नदीमले ३ विकेट लिए । आजको खेलमा नेपाली टीमका युवा तिव्र गतिका बलर कमलसिंह ऐरीले डेब्यू गरेका छन् । उनले अविनाश बोहरालाई रिप्लेस गर्दै डेब्यू गरेका हुन् । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।

टी–२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित हासिल गर्न सकेको छैन । नेपाल आज ओमानविरुद्ध उत्रदा सात वर्षपछि जित निकाल्ने लक्ष्यमा हुनेछ । लिग २ मा ६ म्याच खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ ।

प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । उसले अमेरिकालाई पनि ६ विकेटले हराएको थियो । जारी सिरिजमा नेपालले अमेरिकालाई हराउँदै जित सुरुवात गरेको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । आज पनि नेपाल जितकै लक्ष्यका साथै मैदान उत्रिएको छ ।

ओमानविरुद्ध नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी, विनोद भण्डारी, करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने ।

बेन्चः रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा ।

ओमानविरुद्ध नेपाल त्रिकोणात्मक एकदिवसीय सिरिज

विशेष