इस्टर्न रिजन कपः हङकङविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौंः थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार बिहान ८ः१५ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालले आज हङकङलाई हाराउँदै लय समात्न चाहेको छ ।
जारी प्रतियोगितामा हङकङको भने यो पहिलो म्याच हो । पछिल्लो समय तुलानात्मक रुपमा नेपालभन्दा हङकङ कमजोर भएको देखिन्छ । उसका महत्वपूर्ण खेलाडी अंशुमन रथ र बाबर हयात टोलीमा छैनन् । तथापि नेपाललाई चुनौती दिनसक्ने खेलाडी हङकङसँग अझै छन् । किन्चित शाह, अजिज खान, निजाकत खान र हारुन अरशद हङकङ टीमका बलिया हतियार हुन् । पछिल्लो तीन टी–२० मा हङकङविरुद्ध नेपालले एक खेलमा मात्र जित हासिल गर्न सकेको छ ।
पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ । एसिया कप छनौटमा पुग्न शीर्ष दुईमा पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ ।
प्रतियोगिता अन्तर्गत आजै दिउँसो हुने अर्को खेलमा मलेसिया र थाइल्याण्ड भिड्ने छन् । पहिलो खेलमा नेपाललाई हराएको मलेसिया अपराजित यात्रा कायम राख्ने दाउमा छ भने थाइल्याण्ड पनि घरेलु मैदानमा पहिलो जितको खोजीमा रहनेछ ।
हङकङविरुद्ध नेपालको सम्भावित प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आरिफ शेख, कुसल मल्ल, विनोद भण्डारी (विकेटकीपर) पवन सरार्फ, सन्दीप लामिछाने, करण केसी, अविनाश बोहरा र भुवन कार्की ।
सम्भावित बेन्चः सन्दीप जोरा, सुशन भारी र किशोर महतो ।
एसीसी इस्टर्न रिजन कप हङकङविरुद्ध नेपाल