हिमेशले खबपु भन्दा १० लाख बढि भोट ल्याएका छन्ः सन्तोष पन्त

काठमाडौंः नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त भएसँगै अर्का प्रतिस्पर्धी खड्गबहादुर पुन मगरका ‘खबपुका’ समर्थकहरु विरोधमा उत्रिएका छन् ।
विजेता छनोट निस्पक्ष नभए भन्दै उनका समर्थकहरु विरोधमा उत्रिएका हुन् । खबपुका समर्थकहरु शनिबार ‘फिनाले’ भएको स्थल बाहिर नाराबाजी गर्न थालेका थिए ।
नारीबाजी भएपछि कार्यक्रमका निर्णायकमध्ये सन्तोष पन्तले भने, ‘हिमेश पन्तले खबपु भन्दा १० लाख भोट बढि ल्याएका छन् । कसरी खबपु विजेता हुने? यो पनि कुनै तर्क हुन सक्छ? धाँधली कार्यक्रम आयोजकले गरेको भए हामी जजहरु चुप बस्थ्यौ होला त? यो विरोध वेकार हो । भोटिङ कै आधारमा विजेता भएका हुन् हिमेश पन्त ।’
यस विषयमा कार्यक्रम निर्माण पक्षले पनि कुनै किसिमको धाँधली नभएको बताएको छ ।
हिमेश बने पहिलो ‘कमेडी च्याम्पियन’
नेपालकै पहिलो रियालिटी सो ‘कमेडी च्याम्पियन’ को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।
उनले शनिबार ‘ग्रान्ड फिनाले’मा खड्गबहादुर पुन मगर (खबपु) र सुमन कोइरालालाई पछि पार्दै पहिलो संस्करणको ‘कमेडी च्याम्पियन’ को उपाधि जितेका हुन् ।
उपाधिसहित हिमेशले २५ लाख नगद र कार जिते । उनलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह जोडीले पुरस्कार वितरण गरेका थिए ।
‘कमेडी च्याम्पियन’को पहिलो संस्करणमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहे । सोको होस्ट रिमा विश्वकर्माले गरिन् ।
कमेडी च्याम्पियन हिमेश पन्त सुमन कोइराला सन्तोष पन्त खड्गबहादुर पुन मगर