स्वास्थ्य

स्याड्जामा स्वास्थ्य शिविर (फोटोफिचर)

स्याड्जामा स्वास्थ्य शिविर (फोटोफिचर)

कालीगण्डकी गाँउपालिका - १ चण्डीभन्ज्याङ स्याङ्जामा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउ सेवा परिवार विर्घा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा सिविर सञ्चालन भएको हो ।

स्याङ्गजा जिल्लाकै सुदुर गाउँमा  गत शनिबार भएको उक्त शिविरमा ४२६ जना स्थानीयको स्वास्थ्य परिक्षण गरिएको गाउँ सेवा परिवारका अध्यक्ष एवं सिविर संयोजक डा धनबहादुर रानाले जानकारी दिए । शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, मुटु, युरोलोजी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, मुख तथा दन्त स्वास्थ्य, आँखा, छाला, पाठेघरको मुखको क्यान्सर परीक्षण लगायतका सेवाहरु दिईएको थियो ।

यस्तै शिविरमा भिडियो एक्सरे सेवा, सुगर तथा पिसाव जाँचको व्यवस्था समेत गरिएको थियो । शिविरका लागि १९ जना चिकित्सक र  नर्स, प्यारामेडिक्स तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका २१ जना जम्मा ४० जना स्वास्थ्यकर्मीको टोली पनि खटिएको थियो । परिक्षण गर्न आएकाहरुलाई आवश्यकता अनुसार निशुल्क औषधि वितरण समेत गरिएको थियो ।

डा रानाका अनुसार परीक्षणका क्रममा गाँउमा मधुमेह, उच्च रक्तचाप साथै पाठेघर खसेका विरामीहरुको संख्या धेरै नै देखिएको थियो । यस्तै मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या भएका, छालारोग सम्वन्धी समस्या भएका विरामीको सख्या समेत उल्लेख्य थियो । 'यो शिविरले गाँउमा सेवा त भयो नै, कतिपय व्यक्तिमा रोग र त्यसविरुद्ध सचेतना जागरुक समेत गराएको छ,' डा रानाले भने ।

सोहि कार्यक्रमकै अवसर पारेर गाँउ सेवा परिवार विर्घाले आफ्नो पहलमा भारतीय दुतावासबाट प्राप्त एम्बुलेन्स विर्घा स्वास्थ्य चौकीलाई हस्तान्तरण पनि गरेको छ । गाँउपालिका अध्यक्ष खिमबहादुर थापा, विर्घा स्वास्थ्य चौकीका अध्यक्ष चक्रपाणी पाण्डे र स्वास्थ्यचौकी प्रमुख एकबहादुर थापालाई परिवारका अध्यक्ष डा रानाले तथा महासचिव राजेन्द्रप्रसाद पाण्डेले संयुक्त रुपमा साँचो हस्तान्तरण गरेका थिए।

गाँउ सेवा परिवार विर्घाका महासचिव राजेन्द्र प्रसाद पाण्डेले एम्बुलेन्स आएपछि त्यस क्षेत्रका विरामीका लागि ठूलो मद्धत पुग्ने बताए । पाण्डेले भने, 'विर्घामा रहने गरि पहिलोपटक एम्बुलेन्स आएपछि स्थानीयका लागि मात्रै नभई सिमा जोडिएका गाउँ तथा छिमेकी जिल्ला पाल्पा र गुल्मीका स्थानीयहरुका लागि समेत लाभ हुनेछ ।'  

पाण्डेले  २०४० सालतिर बिर्घा र यस आसपासका क्षेत्रबाट अध्ययन, जागिर, पेसा, व्यवसाय गर्ने क्रममा काठमाडौँ पुगेका केही उम्दा युवाहरूले आफ्नो जन्मभूमिको भारा तिर्ने संकल्पका साथ जन्मिएको संस्था-गाउँ सेवा परिवारले गाउँको विकासमा केन्द्रमै रहेर आफ्नो जन्मभुमीलाई केहि गरौँ भन्ने उद्धेश्यका साथ आफ्ना गतिविधि अघि बढाएको भन्दै शिविर सञ्चालन गर्नु, एम्बुलेन्स उपलव्ध गराउनु त्यसैको निरन्तरता हो भने ।

सो कार्यक्रममा वी.पी. स्मृती अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा र कालिगण्डकी गाउँपालिका १ नम्बरका वडाध्यक्ष सोभिलाल चौतारेले स्वास्थ्यको पहुँचबाट टाढा रहेका बस्तीमा पुगी गाउँ सेवा परिवारले स्वास्थ्य सेवा प्रदान  गर्दै आइरहेको कार्य निकै उदारणीय रहेको भन्दै बाध्यताले स्वास्थ्य संस्थासम्म पुग्न नसकेकाहरूलाई यस्ता शिविरबाट फाइदा पुग्ने र थप उत्साह समेत थपिने बताएका थिए ।

स्याङ्जा स्वास्थ्य शिविर

विशेष