विचार

थोत्रो गाडीमा नयाँ चालक

थोत्रो गाडीमा नयाँ चालक

अलेक्जेण्डर महान विश्व विजय गर्दै भारत वर्ष पुगेका थिए । भारतबाट फर्कन लाग्दा चिनोका रुपमा एकजना ज्ञानी सन्त लैजाने विचार गरेर आफ्ना सैनिकलाई सन्त खोज्न निर्देशन दिए । सैनिकहरु सन्त खोज्दै डण्डामिसको झुपडी पुगे । उनीहरुले कडिकडाउपूर्वक सम्राटले बोलाएको बताए । डण्डामिस त्यसबेलाका ठूला ज्ञानी सन्त थिए । उनलाई कुनै कुराको लोभ थिएन । सिकन्दरको नाम सुन्नासाथ थर्कमान हुने त्यो समयमा सम्राटको प्रस्ताव सीधै इन्कार गरिदिए । सैनिकहरुले धेरै प्रयास गर्दा पनि उनी टसको मस भएनन ।

सारा प्रयास विफल भएपछि स्वयं सिकन्दरका लागि प्रतिष्ठाको सवाल बन्यो । उनी स्वयं कुटी पुगेर रवाफपूर्वक भन्न थाले– ‘म आधा राज्यको सम्राट हुँ । मसंग हिँड्नुस् ।’ कति पनि नहिच्किचाई डण्डामिसले जवाफ फर्काए– ‘सम्राट रे, हेर्दा त भिखारी जस्तो देखिनु हुन्छ ।’ सन्तको अकल्पनीय तेजोवध गर्ने खालको बचन वाण सुनेर रन्थनिएका सम्राट भन्छन्– ‘म कसरी भिखारी भएँ प्रमाणित गरेर देखाउनुस् ।’ 

सन्त मन्द मुस्काउँदै भन्छन– ‘सोच्नुस तपाईं र म मरुभूमिमा हरायौं । तपाईंको सैन्यदस्ताले बाटो विरायो ।  कयौं दिनसम्म खान पाइएन । पानी समेत दुर्लभ हुँदै गयो । त्यस्तो अवस्था जहाँ अर्को एक घण्टा पानी पिउन पाउनु भएन भने तपाईंको अन्त्य हुँदैछ । पानी पानी भन्दै तड्पिनु भएको छ । त्यो खराव स्थितिमा मैले एक लोटा पानी लिएर दिएँ भने त्यसको बद्लामा मलाई के दिनुहुन्छ ?’

सिकन्दरले सोच मग्न भएर जवाफ दिए– ‘म सम्राट हुँ । जे पनि दिन सक्छु । तर त्यहाँ एक लोटा पानी भनेको पानी नभएर जिन्दगी थियो ।’ उनले हाँस्दै भने– ‘म आधी राज्य दिन्छु ।’ ’समय घर्किदो छ । अब तपाईंसंग मात्र आधा घण्टा जीवन बाँकी छ । मैले आधी राज्यले पानी दिन इन्कार गरें भने त्यसको बद्लामा के दिनुहुन्छ ?’ सन्त थप आक्रामक बन्दै सोध्छन् । 

सोचेर सम्हालिदै सम्राटले जवाफ फर्काए– ‘मेरो जीवन बराबर राज्य हुन सक्दैन । त्यसैले  एक लोटा पानीका लागि मेरो जीवनभर कमाएको सारा राज्य कबोल गर्छु ।’ विजयभावमा सन्त बोले– ‘महाराज मैले अघि नै भनेको होइन, तपाईं भिखारी हुनुहुन्छ । आखिर जीवनभर कमाएको सम्पत्ति एक लोटा पानी प्रमाणित भएन र ?’ राजाहरुका राजा सिकन्दर अनायास एउटा सन्तको खुट्टा समाउन पुगे । त्यही घट्नाको प्रभाव उनले उर्दी लगाए– ‘मेरो मृत्युपछि मेरा दुवै हात कात्रो बाहिर निकालिदिनु । विश्वले थाहा पाओस, सम्पूर्ण संसार जितेर पनि मर्दा सम्राट सिकन्दर खाली हात जाँदैछ ।’ 

कोरोना भाइरसको आतंकले मानव सभ्यतामा एउटा संगीन प्रश्न उठेको छ– ज्यान ठूलो कि धन ? विश्वका सिकन्दरजस्तै शक्तिशाली नेताहरुको अवस्था यतिबेला सिकन्दर महानको जस्तै थाल खाउँ कि भात खाउँ जस्तो भएको छ । विना हतियार विश्वमा आतंक छ । बाहिर हेर्दा ठीकठाक, भित्रभित्रै धमिराले सिध्याएको काठजस्तोे अवस्था छ । सडक छ, मान्छे छैनन् । जहाज छ, यात्रु शून्य । एप्रोन लगाएका डाक्टर छन, उपचार लाग्दैन । मान्छेसंग मान्छे डराएको छ । नयाँ वर्ष लाग्न लागेको कसैलाई पत्तो छैन । पात्रो फेर्ने जाँगर कसैमा छैन । बसन्त ऋतुले मान्छेको मन तानेको छैन । त्यसैले संगीतको सात सुरभन्दा मान्छे जीवन गीतमा अल्मलिएको छ ।  

पोहोर साल खोकिलामा जतनसाथ झुण्ड्याएको पात्रो अब इतिहास बन्ने क्रममा छ । पारखीहरु भन्छन– आरुबखडा फुल्ने यो मौसममा माइत गएका छोरी बुहारी माइतीको घरआँगन चटक्कै छोडेर बुहार्तनका लागि घर फर्कन्छन् । अझ नधकाउनेहरु यो भन्दा पर गएर छेडखान गर्दै प्याच्च भनिदिन्छन्– ‘यो विवाहयोग्य युवतीहरुलाई कुत्कुत्याउने मौसम हो ।’ अझ मायाको फूल फूलाउनेहरुको संसारै अलग छ । सामाजिक सञ्जालका भित्ताहरुमा माया फक्रिन शुरु  भएका छन् । नयाँ वर्ष शुभ कामको साइत हो । धेरै चन्द्रमायाहरु चाँदनीको विशेषण पाएर गजक्क परेका हुन सक्छन् । यद्यपि बसन्तको कोकिल राज्यमा पनि रोटीको व्यथा  दुख्न छोडेको छैन । 

मंसिरमा अन्नको रासमा दाइँ गर्दा जोडेका मुसाका जहान फागुन, चैतमा मौसम उजाडिएसंगै पोइला जान शुरु गर्छन । खडेरी लागेपछि मौसममा जहान पाल्ने हुति मूसामा  रहँदैन भन्छन् । जे भएपनि चैत पुरानो पात हो भने वैशाख नयाँ मुना हो । पुरानो पातले मुनालाई जीवन सुम्पिएर आफू विदा हुनुपर्छ । यो प्रकृतिको नियम हो । 

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ । हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं । पोहोरको बसन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिंगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मूसा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन । झरी असार साउनमै बर्सिने हो । ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो ।  

यी सबै देख्दादेख्दै हामी भन्छौं– समय बद्लियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका झण्डै अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं– मैले संसार फन्को लगाएको छु । 

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनीयर पाइलट बनाउनमा सोख राख्यौं । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ । यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ । अर्थात बाटोले बुढ्याउँछ । पोहोरको बसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन । पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ । तर त्यसको लेखा छैन । 

समय वित्नका लागि मात्र वित्दैन । यो नयाँ कामको लागि उत्तोलक पनि हो । नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ । भित्री आँखाले गुण दोष । 
एकैछिन बखान गरौं सौन्दर्यको ।

यही राजधानी हो, जहाँ गोलीगाँठो देखाएर हिँड्ने किशोरी भानुभक्तका नजरमा ‘बेश्या’ दरिए । समयको उडान अर्कैतिर मोडिएको छ । अब मौसमले पोशाक नभएर पोशाकले मौसम बद्ल्छ । फाटेको लुगामा फेसनको लेपन लगाएपछि त्यो आधुनिकतामा अनुवाद हुनपुग्छ । परिवर्तन आत्मसात नगर्ने हो भने डाइनोसरको नियति सवैको भाग्यमा लेखिने निश्चित छ । 

भनिन्छ, संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशिर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । भौतिकताले उत्कर्षमा पुगेको युरोप, अमेरिका आजसम्म पनि सुन्दरीहरुको सनकमा सञ्चालित हुने गरेको छ । त्यहाँका राजनेताहरुको व्यक्तित्व उठाउने या रसातलमा पुर्‍याउने कुराको निधो उनीहरुको गतिविधिमा भर पर्छ । एउटा सुन्दर मोडल म्याडोनाको व्यक्तित्वले त्यहाँका पुरुषहरुको व्यक्तित्व नै निरीह बनाएको विगत छ । 

एकपटक इतिहासको आँखीझ्यालबाट चिहाएर हेर्नुभयो भने त्यहाँ फ्लोरेन्स, युपी साद्रे, क्लियोपेट्रा र मार्लिन मुनरोजस्ता विश्व प्रसिद्ध अप्सराहरुको वर्णन पाउनु हुनेछ । जसका अगाडि शासकहरु समेत नतमस्तक बनेका थिए । माक्र्स–एंगेल्सका विश्व प्रसिद्ध कृति पनि म्याडोनाको ‘सेक्स’ पुस्तकका अगाडि सयौं कोस पर छोडिए । सुन्दरतालाई यसैको सामथ्र्यमा स्वीकार्ने हो भने यो प्राकृतिक शक्ति पनि हो । अझ यो भन्दा पर गएर भन्दा सन्तुलन पनि हो । 

समयअनुकूल आफूलाई उभ्याउनु पर्छ । समयलाई सापेक्ष रुपमा स्वीकार्नु पर्छ ।  बसन्तलाई मौसममा नभई मनमा भित्र्याउनु पर्छ । मौसम र भावना एकसाथ तरंगिएको प्रेममा नै हार्दिकता हुन्छ । नत्र त्यो चुँडिएको गिटारबाट आउने आवाजजस्तो कर्णकटु हुनपुग्छ । मिलनको धड्कन र विरहको वेदना नै प्रेमको जमिन हो । यसमा चैतन्य र प्रज्ञा दुवै हुन्छ । यो दुवै मिसिएको चास्नी कसलाई प्रियकर नहोला ? 

अलेक्जेण्डर कोरोना भाइरस

विशेष