स्वास्थ्य

नेपालमा कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता

नेपालमा कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिएका छन । उनले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चरणमा उपचारका लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताए । 

उनले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतबार सार्वजनिक गरेका छन । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एक सय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गरेका हुन् । उनले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताए । यसअघि अतिप्रभावित चीन, जापान लगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरिदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताए  ।

साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोरोनाको सङ्क्रमणबाट जोगिन सकिने रहेछ भन्दै उनले थपे , “भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछु” उनले छिमेकी मुलुक भारतमा सङ्क्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने बताए । उनले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा अस्पताल तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरे । उनले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा सङ्क्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।  

कोरोना भाइरस सतर्कता

विशेष