स्वास्थ्य

कोरोना भाइरस संक्रमण: ४ जना आइसोलेसन वार्डमा

कोरोना भाइरस संक्रमण: ४ जना आइसोलेसन वार्डमा

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

डा. बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए । आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।

चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

चालक दलका १८ जनामा कोरोना भाइरसको संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । कोरोना परीक्षणका लागि शनिबार उनीहरूबाट नमुना संकलन गरिएको थियो । उनीहरूलाई नगरकोटस्थित क्वारेन्टाइनमा राखिएको छ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

कोरोना भाइरस

विशेष