कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, ८८ हजार बढी संक्रमित
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएसँगै चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।
चीनबाहेक इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो सङ्ख्या ८८ हजार ४४३ पुगेको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार ४४ हजार ४६२ जना सफल उपचारपछि घर फर्किएका छन् । पछिल्लो हप्ता युरोप र मध्यपूर्वमा यस रोगको संक्रमण फैलिएको छ । इरानमा पहिलोपटक फेब्रुअरी १९ मा यस रोगको संक्रमण देखिएकोमा फेब्रुअरी २२ मा पहिलो संक्रमितले ज्यान गुमाएका थिए । फेब्रुअरी २१ यता ३७ नयाँ देशमा यस रोगको संक्रमण देखिएका छन् ।
लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, एस्टोनिया, रोमानिया, उत्तरी मेसोडेनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिल, अल्जेरिया, स्वीटजरल्याण्ड, क्रोएसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जमबर्ग, आइसल्याण्ड, मोनाको, नाइजेरिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, उत्तरी आयरल्याण्ड, बेलारुस, लिथुयानिया, कतार, आयरल्याण्ड, अर्मेनिया, चेक रिपब्लिक, डोमिनिकन रिपब्लिक र सान मारिनोमा समेत कोरोनाको संक्रमण फैलिएको छ ।