दिल्ली क्यापिटल्समा अनुबन्ध भएका वोक्सले आइपीएल नखेल्ने
काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका इंग्ल्याण्डका अलराउन्डर क्रिस वोक्सले नखेल्ने भएका छन् । ‘समर सिजन’मा घरेलु मैदानमा खेल्ने टेष्ट सिरिजलाई मध्यनजर गर्दै वक्सले आइपीएल २०२० नखेल्ने भएका हुन् ।
आउँदो टेष्ट सिरिजमा आफूलाई ‘फिट’ राख्नका लागि उनले आइपीएल नखेल्ने निर्णय गरेका क्रिकइन्फोले लेखेको छ । वोक्सले आइपीएलमा पहिलोपटक २०१७ मा भाग लिएका थिए ।
कोलकाता नाइट राइडर्स ‘केकेआर’ बाट खेल्दै उक्त सिजनमा उनले १३ म्याचमा १७ विकेट लिएका थिए । २०१८ को आइपीएलमा ५ म्याच खेल्ने मौका पाएका वोक्सले ८ विकेट लिएका थिए । २०१९ को सिजन भने उनले खेलेका थिएनन् ।
आइपीएल २०२० का लागि दिल्लीले उनलाई अक्सनबाट डेढ करोडको ‘बेस प्राइस’मा अनुबन्ध गरेको थियो । स्मरणरहोस् यसअघि उनलाई रोयल च्यालेन्जर्स (आरसीबी) १० करोड भारुमा टिममा अनुबन्ध गरेको थियो ।
आइपीएल २०२० मार्च २९ देखि सुरु हुँदैछ । यो पटकको आइपीएल उद्घाटन म्याचमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स (सीएसके) खेल्ने छन् । दोस्रो म्याचमा ३० मार्चमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पन्जावको सामना गर्ने छ ।