कभर स्टोरी समाज

काेराेनासँग जुध्नका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै मिडियाकाे महत्व झन बढ्याे - अध्यक्ष श्रेष्ठ (भिडियोसहित)

काेराेनासँग जुध्नका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै मिडियाकाे महत्व झन बढ्याे - अध्यक्ष श्रेष्ठ (भिडियोसहित)

काठमाडाैं । नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कोरोनासँग जुध्नका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै मिडियाकाे महत्व झन बढेको बताएका छन् । सोमबार नेपाल आजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले सूचना सम्प्रेषणमा चुनौती थपिएसँगै संक्रमणसँग जुध्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको दायित्व बढेका बेला मिडियाको महत्व झन् बढेको बताएका हुन् ।

अहिलेको अवस्थामा एउटा सानो गलत सूचना सम्प्रेषण भए पनि त्यसले भयावह अवस्था सिर्जना गर्नसक्नेतर्फ इङ्गित गर्दै उनले भने -' अहिले एउटा मात्रै सानो गलत सूचना फैलियो भने झिल्कोले जङ्गल डढाउछ भन्याजस्तै अवस्था आउनसक्छ । भयावह अवस्था सिर्जना हुने खतरा छ ।' कोरोना प्रकोप नेपालको मात्रै नभई विश्वकै समस्या भएको र दोस्रो विश्वयुद्धले नसमेटेका सञ्चारका अधिकांश भूभाग समेत यसले छोएको भन्दै उनले यस्ताे अवस्थामा सहि सूचना सम्प्रेषण गर्नु भनेको समुद्रको गहिराइबाट मोति खोजेर ल्याउनजस्तै चुनौतिपूर्ण भएको तर्क गरे ।

'मान्छेको जनजीवन फेरिएको छ । भयावह अवस्था छ, अभाव बढेको छ, सरकारमाथि पनि आशा अपेक्षा, भरोसा, आक्रोश र गुनासो पनि झन् बढेको छ' उनले भने 'अहिले घरघरमा त हामी परिवारसहित छौ, बालवालिका, वृद्ध वृद्धा र महलाहरु घरगृहस्ती सम्हालेर आफ्नो परिवारलाई मेन्टेन गरिरहनुभएको छ, त्योभन्दा बढी मिडियाकर्मीहरुमाथि दायित्व छ सहि सूचना ल्याउनका लागि जिम्मेवारी थपिएको छ।'

कुराकानीका क्रममा अध्यक्ष श्रेष्ठले मिडियालाई सत्कर्म गरेवाफत कसैले बाधा अबरोध पुर्याउनुलाई अक्षम्य अपराधको रुपमा व्याख्या गरे । तर प्रेस स्वतन्त्रताको नाममा एकपक्षीय रुपमा समाचार लेखेर कसैलाई गालीगलौज र मानमर्दन हुनेगरी अपुष्ट, भ्रामक, अनर्गल तथा लाल्छना लगाउने खालका समाचार सामाग्री प्रकाशन, प्रशारण गर्ने छुट मिडियालाई पनि नभएको प्रष्ट पारे । 

उनले चैत्र १० गते लकडाउन सुरु भएयता मात्रै ६६ वटा अनालनहरुलाई स्पष्टिकरण, जवाफ माग र सचेत ध्यानाकर्षण गराइएको, कोरोना संक्रमण सम्बन्धि समाचारबारे उजुरीमा आधारित भइ ४ मिडियालाई पत्राचार गरिएको र २९ वटा वेबसाइटलाई नेपालभर प्रकाशन/ प्रशारण हुन नमिल्ने गरी बन्द गरिएको जानकारी दिए । त्यस्तै २ युट्युब च्यानलहरुलाई साइबर ब्युरोमा दर्ज गरिएको समेत बताए ।

प्रेस स्वतन्त्रताको रक्षा गर्दै मर्यादित बनाउन अति नै आवश्यक रहेको बताउदै अध्यक्ष श्रेष्ठले प्रेस मर्यादित हुनसके प्रेसमाथि हुने आक्रमण, हमला, गालीगलौज र कुटपिटका घटनाहरु सवत: ८० प्रतिशत कम हुने पनि दावी गरे । हेर्नुहोस भिडियो: 

विशेष