कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट, ट्रम्प भन्छन्– अमेरिकाले ठीक गर्दिन्छ
काठमाडौं । अमेरिकी कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट आएको छ । अर्थात् इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल (ऋणात्मक) भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ। बीबीसीका अनुसार सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ।
तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ। मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे।
जुन महिनामा पनि वेस्ट टेक्सस इन्टरमीडिएटको मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारेल मूल्य २० अमेरिकी डलर थियो। यसैबीच, जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ।
८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको छ। लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने जानकारहरूले बताएका छन्। तेल उद्योग घटिरहेको माग र उत्पादकहरूबीच उत्पादन घटाउने विषयमा भइरहेको खिचातानीका बीच सङ्घर्ष गरिरहेको छ।
केही हप्ताअघि तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र उक्त सङ्गठनका सहयोगीहरूबीच विश्वव्यापी रूपमा तेल उत्पादनमा करिब १० प्रतिशतले कटौती गर्ने विषयमा सहमति भएको थियो। उक्त सम्झौता तेल उत्पादनमा सहमति जनाइएको हालसम्मकै सबैभन्दा ठूलो कटौती थियो।
ट्रम्प भन्छन्– तेलको मूल्य अमेरिकाले ठीक गर्दिन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्य पहिलोपटक ऋणात्मक भएको मौकामा आफ्नो इन्धन भण्डारणस्थललाई भरेर राख्ने बताएका छन् । उनले भनेका छन्, ‘यही मौकामा हामी हाम्रो पेट्रोलियम भण्डार भरेर राख्ने छौं । हामी कूटनीति भण्डार गर्दैछौं । हामी करिब ७.५ करोड ब्यारेल तेल रिजर्भ गरेर राख्न चाहान्छौं ।’
तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबीसमेत गरेका छन् ।