विप्लवको बिशेष आह्वान - केपी ओलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्ति ध्रुवीकृत हुनुपर्छ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यमार्फत विशेष सन्देश दिँदै केपी ओली सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् ।
केन्द्रीय समितिका तर्फबाट ‘पार्टी स्थापना दिवसको वक्तव्य’ जारी गर्दै महासचिव विप्लवले साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्नुका साथै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव पनि व्यक्त गरेका छन् ।
महासचिव विप्लवद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘आज २०७७ वैशाख १० (अप्रिल २२, २०२०) को दिन नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको र नेपाली श्रमिक जनताले कम्युनिस्ट पार्टी प्राप्त गरेको ऐतिहासिक दिन हो । यो दिन साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्दै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव व्यक्त गर्दछौँ ।’
पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति पूरा गर्न विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने भएकाे उनले स्मरण गरेका छन् । साथै चारजनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज बहुसङ्ख्यक जनता आबद्ध र आस्थावान् बन्ने उचाइमा पुगेको उनले बताएका छन् ।
विप्लवले वक्तव्यमा भनेका छन्, ‘कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति पूरा गर्न विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने थियो । चारजनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज बहुसङ्ख्यक जनता आबद्ध र आस्थावान् बन्ने उचाइमा पुगेको छ ।’
तर कम्युनिस्ट आन्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी ओली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना अहिलेसम्म पुरा हुन नसकेको उनले प्रष्ट पारेका छन् । आज केपी–प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि फासिवादी दमन चलाइरहेको उनको भनाइ छ ।
बिज्ञप्तिमा अगाडि भनेका छन्, ‘परन्तु कम्युनिस्ट आन्दोलनमा घुसेका र पैदा भएका केशरजङ्ग रायमाझी, मनमोहन अधिकारी, केपी वली, पुष्पकमल दाहाल, बाबुरामजस्ता संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी, विसर्जनवादी र संसद्वादीहरूका कारण बहुसङ्ख्यक नेपाली जनताको वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना पूरा हुन पाएको छैन । आज केपी–प्रचण्ड गठबन्धन (कथित पार्टी एकता) सरकारले कम्युनिस्ट नामबाट प्रतिक्रान्तिकारी सामाजिक दलाल पुँजीवादी सत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि फासिवादी दमन चलाइरहेको छ ।’
उनले दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्रष्ट, राष्ट्रघाती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेर बदनाम, असफल, सङ्कटग्रस्त केपी गुट र सरकार कुनै पनि हालतमा सत्ता छोड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य–मान्यताहरूलाई फासिवादको पैतालामुनि दबाएर सत्ता हत्याउन लागिपरेको बताएका छन् । यसले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको सत्य स्थापित भएको उनको भनाइ छ ।
‘दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्रष्ट, राष्ट्रघाती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेर बदनाम, असफल, सङ्कटग्रस्त केपी गुट र सरकार कुनै पनि हालतमा सत्ता छोड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य–मान्यताहरूलाई फासिवादको पैतालामुनि दबाएर सत्ता हत्याउन लागिपरेको छ । यसले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको सत्य स्थापित भएको छ । तसर्थ यो ऐतिहासिक पार्टी स्थापना दिवसका अवसरमा हामी जिम्मेवारीबोधका साथ केपी वलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आग्रह गर्दछौँ ।’ बिज्ञप्तिको अन्त्यमा भनिएको छ ।