नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, अध्यादेशबारे छलफल हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका २ वटै अध्यादेशबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी वैशाख १७ गते दिउँसो १ बजे बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएको छ ।
आजमात्रै कांग्रेसका ११ जना युवानेताहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै सामूहिक विज्ञप्ति जारी गरेका थिए ।उनीरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् ।
बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको ठहर गरेका हुन् ।
सरकारको निर्णयपछि राष्ट्रपतिले जारी गरेका दुवै अध्यादेश कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार भएको उनीहरुको भनाइ छ । बुधबार नै कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुको सामूहिक बैठक आह्वान गरेको थियो ।
बैठकले सरकारले जारी गरेका अध्यादेशहरु संविधानको मर्म विपरितको भएको भन्दै तत्काल फिर्ता लिन माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सामाजिक दूरी कायम गर्ने व्यवस्थासहित संसद बैठक बोलाउन समेत माग गरेको छ ।