११ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि उदयपुरमा त्रास, अन्य गाँउलेको पनि स्वाब परीक्षण गर्न माग
उदयपुर । एकैपटक ११ जना स्थानीयवासीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उदयपुरको भुल्के तथा आसपासको क्षेत्रमा त्रास बढेको छ । यसअघि १३ जना भारतीयमा संक्रमण फैलिएको भुल्केमा मंगलबार थप ११ जना स्थानीयवासीमै एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्रियुगा नगरपालिकाको ३ नम्बर वडा शिल गरिएको छ ।
सो क्षेत्रका ६५० जनाको स्वास्थ्य परीक्षणको तयारी गरिए पनि स्वास्थ्य परीक्षणका लागि आवश्यक सामग्री नहुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख नवराज सुवेदीकाअनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव भएको छ ।
भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ । जसमध्ये अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको सुवेदीले जानकारी दिए ।
तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने दबाब बढेको तर सामग्री नहुँदा समस्या भएको उनले बताए । सुवेदीकाअनुसार कोरोना संक्रमित बढ्दै गएपछि भुल्केवासी र गाईघाट बजारवासीले छिटोभन्दा छिटो सबै स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न माग गरिरहेका छन् ।