विश्वद्विप पाण्डेकाे खुलासा : सुरेन्द्र यादवले अपहरणकाे घेरा तोडे, उपेन्द्र-बाबुराम स्थिति सम्हाल्ने प्रयासमा छन्
काठमाडाैं । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा जनकपुरबाट अपहरणमा परेका भनिएका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले अपहरणको घेरा तोडेको समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वद्विप पाण्डेले खुलासा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा फाेटाेसहितकाे स्टाटस राख्दै उनले अपहरणको घेरा तोडेर यादव फुत्किन सफल भएको बताएका छन् । पाण्डेले नै सुरुमा यादव अपहरणमा परेको दाबी गर्दै सामाजिक सन्जालमा राखेका थिए । समाजवादी पार्टी फुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा यस्तो भएको आरोप उनले लगाएका थिए ।
यादवसँग चिया खाइरहेको तस्विर सार्वजनिक गर्दै पाण्डेले लेखेका छन् -'हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के के दु:ख भोग्नुपर्यो, प्रमले राती फोनमा के भन्नुभो, विहान होटलबाट कसरी भागें भनेर विस्तृतमा सुनाउँदै सुरेन्द्र यादवजी !' यसअघि उनले यादवले अपहरणको घेरा तोडेको र आफू लिन जानेको उनले बताएका थिए ।
गत सोमबार आएको दल विभाजनसम्बन्धी अध्यादेशले दलहरु फुटाउन सजिलो बनाएको र समाजवादी पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीका केही नेता होटल मेरियटमा राखेको पनि पाण्डेको आरोप छ । त्यस्तै अर्को स्टाटसमा उनले इस्तियाक राई र रेणु यादवसँग बाबुराम भट्टराईको फोनमा कुराकानी भएको भएका छन् ।
अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव विहानैबाट स्थिति सम्हाल्न प्रयासरत रहेको पनि उनले दावी गरेका छन् । 'इस्तियाक राई र रेणु यादवसँग बाबुराम भट्टराईको फोनमा कुराकानी भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव विहानैबाट स्थिति सम्हाल्न प्रयासरत हुनुहुन्छ ।' उनले लेखेका छन् ।