चाैतर्फी चर्को विरोध भएपछि अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भए ओली
काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन् ।
दुबै नेताको दबाबपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको जानकारी दिए । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड करीव एक घण्टा छलफलपछि बाहिरिएका थिए ।
यसैबीच बुधवारबाट शुरु भएको नेकपा सांसदहरुसँगको ओली र प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै विहीबारको छलफल स्थगित भएको हो । बुधवार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल भएको थियो । छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरुलाई बताएका थिए ।