मुख्य समाचार

प्रधानमन्त्री ओलीको षड्यन्त्रलाई चिर्दै अन्तत: फुट्नुको सट्टा जुट्यो समाजवादी

प्रधानमन्त्री ओलीको षड्यन्त्रलाई चिर्दै अन्तत: फुट्नुको सट्टा जुट्यो समाजवादी

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक तथा नयाँ बनेको जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकोमा व्यंग्यसहित धन्यवाद दिएका छन्।

बिहीबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा दल दर्ता गर्न पुगेका भण्डारीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएकोमा आफूहरू जुटेको बताए।

‘उहाँले पार्टी फुटाउन अध्यादेश ल्याउनुभएको थियो। हामी जुट्यौं,’ भण्डारीले भने,‘धन्यवाद प्रधानमन्त्रीज्यू।’ तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ।

यता पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् । मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् ।

पार्टी एकीकरण भई निर्वाचन आयोगमा दर्ता भइसकेपछि सांसद यादवले भने, ‘मेरो सपना थियो, त्यो साकार भएको छ, आजको दिनमा तीनवटा पार्टीहरु एक हुनु योभन्दा राम्रो मेरा लागि अरु के होला र ।’ यस्तै पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् ।

समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन आफूहरूले आश्वासन नदिएको पूर्वमन्त्री राईको भनाइ छ ।

राईले गत पुस पहिलो साता शहरी विकास मन्त्रीबाट राजीनामा दिएका थिए । उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउने गरेका छन् । आफ्नो पार्टीमा असन्तुष्टि रहेको भने राईले स्वीकारे । उनी भन्छन्, ‘पार्टीभित्र असन्तुष्टि भएको सत्य हो । यही कारणले पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउला ।’

यसअघि राईलगायतका नेताहरूले समाजवादी पार्टी फुटाउन लागेको चर्चा चलेको थियो । बुधबार समाजवादी र राजपाबीच एकता भएको थियो । दुवै दलका शीर्ष नेताहरू एकताको सहमति पत्र तयार पार्न बैठक बसिरहेको बेला असन्तुष्ट पक्षका नेताहरूले पनि पार्टी फुटाउने तयारी गरेको समाचार सार्वजनिक भएका थिए।

विशेष