मालबाहक ट्रकमा कोचिएर घरको यात्रा तय गर्दै मजदुर (भिडियोसहित)
काठमाडाैं। आज नेपाल लकडाउन भएको ३२ औं दिन । लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यक कामबाहेक बाहिर निस्किन सकेका छैनन्। कोरना भाइरस (कोभिड-१९) को महामारीलाई न्यूनीकरण गर्न सरकारले कलडाउन गरेको भए पनि दैनिक ज्यालादारी काम गरेर खाने मजदुर र भाडामा बस्दै आएकाहरुलाई कोरोना संक्रमणभन्दा पनि के खाने ? र कहाँ बस्ने ? भन्ने चिन्ताले पिरोलेको छ ।
लकडाउनकै क्रममा सहरी क्षेत्रमा ग्रामीण इलाकाबाट काम गर्न आएका मजदुरहरु निकै प्रभावित भएका छन्। दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने यस्ता मजदुरहरुलाई लकडाउनका कारण काम नपाएपछि एकातिर घर फर्किनैपर्ने बाध्यता छ भने अर्कोतिर सहज यातायातको व्यवस्था छैन ।
जोहो गरेको रासनपानी सकिएर काठमाडाैंमा खान बस्न समस्या भएपछि मजदुरहरु घर जानका लागि जोखिमपूर्ण यात्रा तय गर्न बाध्य भएका छन् । बिहिबार नेपाल आजको टीम कलंकी हुदै थानाकोटसम्म पुग्दा यस्तै कारुणिक दृश्य देखियो । महिला र बालबच्चासहित केहि मानिसहरु भकाभक आफुलाई ट्रकमा हुलिरहेको दृश्य नेपाल आजले कैद गरेको छ ।
उनीहरू लकडाउन छिचाेल्दै काठमाडाैबाट बाराकाे पथलैया जान हिडेका हुन । कोरोनाबाट जोगिन सरकारले सामाजिक दुरी कायम गर्न भनेको छ तर ट्रकमा कोचिएर घर जान हिडेका मजदुरहरुले न त सामाजिक दुरी कायम गर्न सक्छन न त आरामदारी यात्रा नै । लकडाउनको पहिलो चरणमा घर फर्किन हिडेकाहरुलाई सरकारले ठाँउको ठाँउ रोक्यो । जो जहाँ छ त्यहिँ राखेर खाने बस्ने व्यवस्था गर्न सम्बन्धित तह र निकायलाई सरकारले निर्देशन दियो ।
जब नेपालमा कोरोना संक्रमित बढ्दै गए तब काठमाडाैंसहित देशका बिभिन्न ठाँउबाट घर फर्किनेहरुकाे चाप पनि उतिक्कै चाप बढ्यो । सरकारले उपत्यकासहित अन्य ठाँउबाट घर फर्किन नपाएर बाटोमै अलपत्र परेकाहरुलाई गन्तव्यमा पुर्याउन पनि नसकेको र उचित ब्यबस्थापन पनि गर्न नसकेको भन्दै चौतर्फी आलोचना बढ्यो ।
उक्त आलोचनाबाट रुष्ट बनेको नेपाल सरकारले 'बाटोमा भेटिएकाहरु जो जताबाट आएका हुन् तिनीहरुलाई त्यतै फ़र्काइदिनु ' भनेर मातहतका निकायलाई निर्देशन दियो । तर लकडाउनको ३२ औं दिनसम्म आइपुग्दा सरकारले नै लकडाउन अघोषित रुपमा खुकुलो बनाएको छ । बिहिबार कलंकीमा देखिएको त्यो दृश्यले देशकाे संघिय राजधानी काठमाडाैंमा अघोषितरुपमा लकडाउन खुकुलो बनाएको प्रष्ट देखिथ्यो ।
थानकोटसम्म पुग्दा मान्छेहरु बाटोमा झोलाझिम्टि बोकेर घर जान हिडेका देखिन्थे । आखाै अगाडिबाट उनीहरु हिडिरहेको देखेर प्रहरी पनि मौन देखिन्थ्यो । घर फर्किन चाहनेहरुलाई जान दिने या नदिने भन्ने कुनै बैज्ञानि योजना सरकारसँग छैन । त्यसकारण जान देउ भन्ने निर्देशन आउनेबितिक्कै यात्रुहरु ट्रकमा कोचिएको देख्दा पनि मौन बसेर माथिको आदेश पालना गर्नुबाहेक प्रहरीसँग पनि अरु कुनै विकल्प छैन ।
असुरक्षित यात्रा
मजदुरहरु घर पुग्ने आशामा निक्कै असुरक्षित यात्रा गर्न बाध्य भएका छन् । जसले कोरोनाभन्दा फरक अन्य जोखिम उत्पन्न गर्ने खतरा पनि पैदा गरेको छ । बालबच्चासहित ट्रकमा लामो दुरीको यात्रा गर्दा उनीहरु उनीहरू निसस्सिएर बिरामी पर्ने र ज्यानै जानेसम्मका घटना घट्नसक्नेतर्फ सम्बन्धित सबै पक्ष सचेत हुन जरुरि देखिन्छ । एक ठाँउबाट लगेर ट्रकले उनीहरुलाई गन्तब्यमा नपुर्याई अन्तै अलपत्र पारिदिए तयसको जिम्मा कसले लिने ? सरकार प्रशासन या ट्रक चालक ?।
थानकोटको त्रिभुवन पार्कमा नेकपाको शिविर
उता घर पर्कदै गरेका मानिसलाई नेपाल कमुनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरुले थानकोटको त्रिभुवन पार्कमा स्थापना भएको शिविरमा राखेर उनीहरुको गन्तब्यमा पठाउने तयारी गरेकाे पनि देखियो। केहिदिन पहिला बसमा हालेर केहि मानिसलाई उनीहरुको गन्तब्यमा पठाइएको कुरा थाहा पाएर नजिकका मानिसहरु पनि घर फर्कन त्यहाँ घुइचो लाग्न थाल्यो। भिड बढ्न थालेपछि टाढाबाट आएका मानिसहरु र पिडितको पहिचान गरेर केहि दिन शिविरमा राख्ने र गन्तब्यमा पठाउने गरीउकाे रहेछ। खान र बस्नको प्रबन्ध पनि शिविरमा नै गरिएको थियो। यसको नेतृत्व नेकपा नेतृ अन्जना बीसङ्खेले गरेकी थिइन्। चन्द्रागिरी नगरपालिकाले स्थान र स्वस्थ्य डेस्क उपलब्ध गरेको थियो।
कलंकीदेखि थाकोटसम्म जे देखियो हेर्नुहोस भिडियोमा: