नेकपाभित्र बैकल्पिक नेतृत्वको भ्रुण तयार भैसक्यो- केशव स्थापित (भिडियाेसहित)
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेशसभा सांसद केशव स्थापितले नेकपाभित्र वैकल्पिक नेतृत्वको आधार तयार भइसकेको दावी गरेका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
'यो एउटा पुस्तान्तरणको आधार हो, यसोभन्दा धेरै नेताहरुलाई खतराको घन्टी बज्ला । पचासौ लाख नेपाली युवा बाहिर गएर इकोनोमीको कुरा गरेपछि त्यो समुह संगठित त हुन्छ नी।' उनले भने -'त्यसैले अब वैकल्पिक नेतृत्वको आधार तयार भैसक्यो । वैकल्पिक नेतृत्वको अहिले भ्रुण भैसक्यो केहि समयपछि त्यसको जन्म हुन्छ ।'
अब आउन लागेको नयाँ युवा नेतृत्वले आफुलाई महान र पुराना भनेर दावी गर्नेहरुलाई धक्का हानिसकेको पनि उनको दावी छ । त्यसका लागि ठाँउ छोड्न आफुहरु तयार हुनुपर्ने उनको बुझाई छ । आफ्नो कयौ कुराहरु सुरूमा धेरैलाई अपचजस्तो लागे पनि कालान्तरमा भने त्यो पुष्टि हुने उनको भनाइ छ ।
सांसद स्थापितले आफुले देखेको निष्ठा, जनताको कल्याण र समस्त पार्टीलाई नै लाभ हुने अवास्थामा आफुले भाग मात्रै खोजेर बस्न उचित नहुने तर्क गरे । अर्को प्रसंगमा उनले मदन भण्डारीको निधनपछि विद्या भण्डारीलाई आफुले चुनाव जिताएको स्मरण समेत गरे । अहिले भण्डारी राष्ट्रपति भएपछि आफुलाई गौरव लागेको अनुभूति सुनाए।
त्यस्तै अर्को प्रसंगमा उनले प्रधानमन्त्री केपी ओलीले ल्याएर राष्ट्रपति भण्डारीले जारी गरेको दल बिभाजनसम्बन्धि अध्यादेशले कोरोना सन्त्रासलाई विषयान्तर गरेको तर्क गरे । 'केपी कमरेड के गर्नुहुन्छ भने हाम्रो पार्टीको बैठक चल्दा पनि ब्रेक भन्नुहुन्छ क्या ! अनि नयाँ नयाँ अनौठो कुरा गरेर हसाउनु हुन्छ । जर्याक जुरुक्क गर्नुहुन्छ र फेरी मूल बिषयमा आउनुहुन्छ ।' उनले भने -' त्यसैले यो कोरोना ब्रेकजस्तो लाग्यो उहाँको ।'
अरु पार्टीहरु पनि कोरोना कोरोना भनेर कराइरहेको अवस्थामा अध्यादेश आएपछि सबैको ध्यान त्यता विषयान्तर भएको उनले बताए । हेर्नुहोस भिडियो...
र यो पनि,