स्वास्थ्य सेवा बिभागका महानिर्देशक भन्छन- कोरोना नियन्त्रणमा सरकारले राम्रो कम गर्न सकेन
काठमाडाैं । नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेलामा स्वास्थ्य सेवा बिभागको कार्यसम्पादन निक्कै कमजोर देखिएको छ । स्रोत, साधन र बजेटका हिसाबले सम्पन्न बिभाग आफु काम गर्नुको सट्टा सरकारको टाउकोमा सबै दोष थुपारेर बसेको छ ।
बिभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ सरकारको पूर्व तयारी नपुगेका कारण कोरोना संक्रमण फैलिदै गएको दावी गर्छन, जबकी स्वास्थ्य सम्बन्धित नीतिहरू तर्जुमा गर्न नेपाल सरकारलाई आवश्यक प्राविधिक सल्लाह दिनुका साथै ती नीतिहरूको आधारमा स्थापना गरिएका स्वास्थ्य संस्थाहरूको विकास र विस्तार गर्ने काम उनकै जिम्मेवारीभित्र पर्छ ।
स्वास्थ्य सामाग्री खरिददेखि स्वास्थ्य संस्थाका लागि जनशक्तिको आवश्यकता तोक्न र छोटो तथा दीर्घकालीन योजनाहरू तयार गरी त्यस्ता जनशक्तिको विकास गर्ने काम बिभागकै हो । अझ स्रोतहरूको उचित व्यवस्थापन गरी क्षेत्रीय स्तरमा लागूपदार्थ, उपकरण र अन्य सामग्रीहरूको आपूर्ति सुनिश्चित गर्ने जिम्मा पनि बिभाग अन्तर्गत नै पर्छ । तर बिभागमा महानिर्देशक श्रेष्ठ भने यी जिम्मेवारी पुरा गर्न सकिरहेका छैनन् ।
२०५० साल यता बिभागको महानिर्देशकको जिम्मेवारी मेडिकल डाक्टरले सम्हाल्दै आएकोमा यसपटक भने राजनीतिक पँहुचका आधारमा श्रेष्ठले त्यो जिम्मेवारी पाएको चर्चा बिभाग र स्वास्थ्य मन्त्रालयमा चल्ने गरेको छ । श्रेष्ठ पढाइका हिसाबले कमजोर नभए पनि उनी मेडिकल डाक्टर भने होइनन् । एचए, बिपिएच र एमपिएच पढेर बिभागको महानिर्देशक बनेका उनी कार्यसम्पादनमा निक्कै कमजोर बनेका छन् ।
चाहे त्यो ओम्नी ग्रुपसँगको स्वास्थ्य सामाग्री खरिद प्रकरण होस् या कोरोना नियन्त्रणका लागि चालिने आवश्यक पहलकदमी । या प्राकृतिक प्रकोप र महामारीबाट उत्पन्न समस्याहरूको तत्काल समाधानको प्रबन्ध गर्ने कुरा नै किन नहोस् श्रेष्ठ सरकारको योजना सँग-सँगै अगाडि बढ्न नसकेको चर्चा समेत हुन थालेको छ। ओम्नीलाई कालोसुचीमा राख्नबाट बचाएको र अन्य कम्पनीहरुको आबेदनको फायल लुकाएर माफियाको इशारामा चल्ने गरेकाे मन्त्रालय स्राेतकाे भनाइ छ ।
अहिलेको अवास्थामामा कोरोना नियन्त्रण र रोकथामका लागि हातेमालो गरेर अगाडी बढ्नुपर्ने बेलामा भने उनी सरकारले क्वारेन्टाइन राम्रो व्यवस्थित गर्न सकेन भन्दै आलोचना गरेर बसेका छन् । तर आफुले डाक्टरहरुलाई जिल्ला पठाउन समेत सकेका छैनन् ।
'क्वारेन्टाइन राम्रो गर्न सकेनाैं, लकडाउन पुर्ण कार्यान्वयन गर्न सकेनौ । लकडाउनमा भारतबाट आउनेहरूलाई रोक्न सकिएन ।' उनी भन्छन् - 'अधिकांश संक्रमितहरु कडाउन सुरु भएपछि भारतबाट नेपाल आएकाहरु छन्, हामी टेस्ट गर्दै छौं ।'
नेपालमा अतिजोखिमयुक्त सम्भावित ठाँउहरुको पहिचान गरेर त्यहाँ टेस्ट किटहरु पुर्याउने, चिकित्सकहरुलाई सहि तरिकाले परिचालन गर्ने र भएका स्रोत साधनलाई उचितरुपमा व्यवस्थापन गरेर आफ्नो उत्कृष्ट कार्यक्षमता देखाउनु पर्ने बेलामा उनी सरकारले लकडाउन पालना गराउन सकेन भन्दै आलोचना गरिरहेका छन् ।