विचार

हनुमान जी, पाँच सय किलो मिटर पर जन्ती लैजान नसक्ने नि के को भगवान !

हनुमान जी, पाँच सय किलो मिटर पर जन्ती लैजान नसक्ने नि के को भगवान !

नारायण गाउले । हामीले भगवान् मानेर पुज्ने गरेका राम त पाँच सय किलोमिटर हिँडेर बिहे गर्न पनि नसक्ने हुतिहारा रहेछन् । अयोध्या भन्ने ठूलै राज्य होला भन्ने थियो, त्यो पनि रहेनछ । हाम्रो हिसाब अनुसार उनी एकदिनमा ३० किलोमिटर जति मात्रै हिँड्न सक्ने रहेछन् । अब बिहेकै लागि भारतको अयोध्याबाट जनकपुर हिँड्न नसक्ने राम हिँडेर श्रीलङ्का पुग्न सक्ने कुरो भएन । अझ त्यो बेला त गुगल म्याप र नेभिगेशन पनि थिएन । शायद अहिले जस्तो वस्ती पनि थिएनन् । कसैले बाटो देखाउने सम्भावना पनि कम नै हुने भो । श्रीलङ्का भनेको यहीँको कोशी टप्पु हो भन्ने तर्क छ । रावण पनि यतै जन्मेको सिद्ध गर्ने प्रयास हुँदै रहेछ । श्रीलङ्कामा भेटिएका केही सय वर्ष पुराना रामायणसँग सम्बन्धित मठमन्दिर पनि नक्कली रहेछन् । अयोध्या र लङ्का यतै भएपछि पञ्चवटी, सुग्रीव, हनुमान, बाली जस्ता स्थान र पात्र पनि यतै कतै होलान् । समुद्र नै तरे होलान् भनेको यतैको राप्ती खोलो तरेको कुरो आयो । पुल नभएको समुद्र कसरी तर्नु ? हनुमान त चिरञ्जीवी भएको र अहिले पनि जिउँदै रहेकाले माडीतिर खोजे भेटिएलान् पनि । तिनले मारेका भनिएका राक्षस पनि खासै शक्तिशाली र ठूला नभएर यतैका दुई तीन टोले गुण्डा रहेछन् । 

ठाउँको नाम त भारत र नेपालमा प्रायः राम, कृष्ण, सीता, पार्बती, राधा, बुद्ध, शिव जस्ता देवी देवताकै नामबाट राखिएकाले रामनगर त भारतमा पनि होला । जसरी कुनै बेला हिन्दु धर्म फैलिएको हालको अफगानिस्तान, कम्बोडिया र  इन्डोनेशियासम्म धेरै ठाउँमा यस्ता नाम भेटिन्छन् । तर मोबाइल र इन्टरनेटबिनाका ती राम कसरी दक्षिण भारतको रामेश्वरम् पुगे होलान् र ? त्यहाँ नेपाल भन्ने देश बन्नुअघि बनेका मन्दिर पनि नक्कली नै भए । उनले इन्जिनियरिङ् या पाइलट कोर्स पढेका थिएनन् । त्यसैले पुष्पक विमान चलाउन सक्ने कुरो भएन । कोशी किनारतिर रावणलाई मारेर हिँड्दै ठोरीतिर आए होलान् । खासमा नदी र समुद्र पनि नचिन्ने वाल्मीकिले कथामा अलिकति थपघट पनि गरे होलान् । 

धन्न भारतीयहरूले पश्चिमी शक्ति र मुश्लिमहरूको लामो आक्रमणका बाबजुद पनि हजारौँ वर्षअघि हाम्रो रामको चर्तीकला लेखिएको रामायणलाई कतै बचाएर राखेछन् । यता त धमिरोले खाएकाले मात्रै नभएको हो, नत्र त किताब हाम्रै हो । हजारौँ वर्षदेखि नवरात्रिमा रामलीला आयोजना गरेर रावण वध गर्ने चलन र त्यसका लागि हरेक शहरमा ठूला ठूला रामलीला मैदान बनेको देख्दा हाम्रो रामलाई ईश्वर मान्ने र अतिक्रमण गर्ने काम इशापूर्वदेखि नै भएको रहेछ । नत्र हामीकहाँ एउटा पनि राम मन्दिर नभेटिने र त्यहाँ हजारौं मन्दिर भेटिने कसरी हुन्थ्यो ? अझ हामीभन्दा पहिले हिन्दीमा रामायण उल्था गरेर षड्यन्त्र नै रचेका रहेछन् । बुद्ध पनि शायद कसैले भड्काएर दक्षिणतिर लागेछन् । त्यो पनि सुनियोजित नै हुनसक्छ । 

अब रामको संरक्षण जरूरी छ । त्यसका लागि सबैभन्दा पहिले त राम भगवान् हुन् भन्ने भ्रम चिर्नुपर्यो । त्यसपछि बल्ल उनी हिँडेर टाढ़ा आउन सक्ने-नसक्ने निर्क्योल हुन्छ । जनकपुरको स्वयंवरमा रावण पनि थियो, त्यो पक्कै यतै कतैको थियो । यति गरिसकेपछि एउटा नदीलाई समुद्र भनेर, त्यो पनि बाँदरको सहायता लिएर तर्ने र एक दुई टोलेगुण्डाको सफाया गर्ने मामुली राम जहाँ जन्मेको भए पनि के बाल भयो र नभन्नुहोला ।

विशेष