विचार

इच्छा भए असम्भव के छ र ?

इच्छा भए असम्भव के छ र ?

शुरबहादुर सिंह

कर्णाली। चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान भित्र्याउन उहाँ आतुर पनि हुनुहुन्छ । अविरल वर्षाले उहाँलाई धान भित्र्याउन अवरोध गरिरहेको छ ।उहाँले आफ्नै एक बिघा जमीनमा गत चैत २८ गते धान रोप्नुभएको थियो । करिव १२० दिनमा विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ ३ जातको चैतेधान उहाँले महोत्तरीको जलेश्वरबाट ल्याउनुभएको थियो । करिव २८ वर्ष बजारमा विभिन्न पसल राखेर व्यवसाय गर्नुभएका उहाँले दूधवंशी कृषि फार्मका खोलेर रु ५० लाखको माछापोखरीसमेत उक्त स्थानमा निर्माण गर्नुभएको छ ।

प्रतिघण्टा ३० हजार लिटर पानी दिनसक्ने डिपबोरिङ निर्माण गरी उक्त पोखरीमा अहिले सात लाख लिटर पानी जम्मा गरिएको छ । यसअघि प्रतिकेजी रु ३०० का दरले ४५ क्विन्टल माछा बिक्री वितरण गरिसकेका उहाँले यही बन्दाबन्दीकै समयमा तीन हजार भुरा माछापालन गरिएको जानकारी दिनुभयो ।
बजार व्यवसाय गरेर करिब दुई दर्जन नागरिकलाई रोजगारी दिनुभएका उहाँले मध्यपश्चिम विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेपछि कृषिकर्ममा लाग्ने उत्प्रेरणा मिलेको बताउनुभयो । जब मैले ग्रामीण विकास शिक्षा हासिल गरे, त्यसपछि मात्र बुझेँ, मानवजीवनको मुख्य बाँच्ने आधार भनेकै कृषि रहेछ , उहाँले भन्नुभयो, विश्वमा कृषिमा आत्मनिर्भर देशहरुले नै विकासमा फड्को मारेका छन् । त्यसर्थ राज्यले यो क्षेत्रलाई प्राथमिकता साथ माथि उठाउनुपर्छ ।

कृषक ढकालले कृषिलाई मूल जीवन ठानेर पहिलोपटक आफैँले हर्दिनाथ ३ जातको चैतेधान खेती गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, गरे नहुने के रहेछ र ? प्राविधिक सल्लाहबिना नै आफैँले जे होला होला भनेर बन्दाबन्दीमै शुरु गरेँ । बन्दाबन्दीमा अरुले क्षति व्यहोर्दा मैले राम्रो लाभ लिन पाएँ । आखिर राम्रै भयो । करिव ६० मुरी धान उत्पादन होला भन्ने अपेक्षा गरेको छु । अब अगामी दिनमा यो खेतीलाई विस्तार गर्ने योजना बनाएको उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्षसमेत रहनुभएका उहाँले विसं २०४८ देखि फेन्सी, कस्मेटिक, सिसा पसल गर्दै हाल हार्डवेयर व्यवसाय सञ्चालनमा ल्याए पनि कृषिलाई उद्यमसँग जोडेर अघि बढाउने उद्देश्य रहेको जनाउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चैतेधान लहलह झुलेपछि आफूलाई मात्र नभई सबै किसानलाई यो खेती गर्न उत्साहित बनाएको छ । प्रदेश तथा यहाँका स्थानीय सरकारलाई चैतेधान खेती गर्ने किसानलाई विशेष अनुदान सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सबै सरकारले कृषि क्षेत्रमा जोड दिन ग्रामीण विकास शिक्षा हासिल गरेको जनशक्तिलाई परिचालन गर्नुपर्नेमा उहाँको जोड थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषक ढकालले गरेको चैतेधान खेतीको अवलोकन गर्नुभएको छ । एउटा व्यक्तिले आफ्नै प्रयासमा गरेको काम निकै प्रशंसा गर्न लायक भएको मन्त्री केसीको भनाइ थियो । उहाँले यस व्यवसायलाई प्रवद्र्धन तथा विस्तार गर्न किसानलाई चैतेधानको बीउ वितरण गर्ने बताउनुभयो यो धानको उत्पादनले कर्णाली प्रदेशको आत्मनिर्भरतामा सहयोग पुग्ने देखिन्छ , उहाँले भन्नुभयो, सुर्खेत, सल्यान, रुकुमपश्चिम, दैलेख र जाजरकोटको तल्लो भागमा यसको उत्पादनमा जोड दिने गरी सरकारले अब कार्यक्रम बनाउँछ । (रासस

विशेष