कोेरोनाको कहरले ओझलिएको ‘राखी’ पर्व
गोपालप्रसाद बराल
महोत्तरी। साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी (रक्षाबन्धन) पर्वको चहलपहल यसपालि मन्द छ । कोभिड १९ सन्त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा नआएका, सीमाक्षेत्रको (नेपाल भारत) आउजाउ सहज नभएको र सिनेमाघर पनि सञ्चालन नभएपछि यसपालि राखीको चहलपहल मन्दी देखिएको हो ।
मिथिलामा जनजन परिचालन भएर साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारी साउन शुक्लपक्ष लाग्नासाथै शुरु हुन्थ्यो । सिनेमाघरमा लगातार गुञ्जिने राखी पर्व विशेषका गीत, हाटबजार जताततै बढ्ने चहलपहल, बाहिर भएका दाजुभाइको अवाइबारेको दिदीबहिनीबीचको चर्चा र रङ्गीवीरङ्गी राखी (विभिन्न रङका धागोमा कलात्मक बनाइएका डोरा) सजाइएका पसलले बढाउने चहलपहल नदेखिएपछि पर्व मुखमा आएजस्तो भान नभएको यहाँका सर्वसाधारण बताउँछन् ।
पर्व आउन त अब पाँच दिनमात्र बाँकी छ , यसअघिका साउन शुक्लपक्षको रमझम सम्झँदै महोत्तरीको भङ्गाहा नगरपालिका ४ रामनगरकी बन्दना साहले भन्नुभयो, यसपालि न बजार चहलपहल, न दाजुभाइ राखी बाँध्न आउने टुङ्गो यस्तो निरास राखी पर्व पहिलोचोटि अनुभूति गरिरहेकी २९ वर्षीया बन्दनाको भनाइ छ । मिथिलाका फुटपाथे पसल हउन् वा पान पसल. ठूलठूला व्यापारिक प्रतिष्ठान होओस् कि चलचित्र घर..! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेपछि तिनैले राखी पर्वको सूचना दिन्थे । जताततै पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र नै राखीमय देखिने विगतको सम्झनाले यसपालि दिदीबहिनी र दाजुभाइ दुवैको मन कुड्याएको छ । यतिबेला पर्वको रमझम उत्कर्षमा हुनेबेला कोरोना सन्त्रासले दाजुभाइसँग मिलनका गीतका ठाउँमा यसपालि बिरह का धुनले मन अमिल्याएको दिदीबहिनी बताउँछन् ।
खै राखीका गीत के गुञ्जनु ? दाजुभाइको आउने कुरा भएन भारतको मुम्बईमा काम गरिरहेका दाजु यसपालि पर्वमा आउन नपाउने खबरले भक्कानिएकी बर्दिवास नगरपालिका ९ पशुपतिनगरकी कक्षा १२ मा अध्ययनरत राधिका महतोले गहँभरि आँसु काँढ्दै भन्नुभयो, अब कहिले गाडी खुल्लान् र दाजु आउन पाउनु होला ! मिथिलामा साउन शुक्लपक्षभरि नै दाजुभाइको सौर्य बखान गरिएका मौलिक गीतको मीठो धुन गुञ्जने परम्परा यसपालि कोरोना सन्त्रासले खोसेको छ । प्रत्येकजसो गाउँनगर बस्तीका हाटबजारमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी, साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) छान्न निस्कने दिदीबहिनीको चहलपहल पनि यसपालि खासै देखिँदैन । साउन शुक्लपक्ष लाग्नासाथ किशोरी र नवयौवना सखी सहेलीको राखी तयारीको भेटघाट र चहलपहल खासै नदेखिएपछि पर्व आएको छनक नै नपाइएको आम मैथिल बताउँछन् ।
दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु पर्वविशेषमा अहिलेको तयारी हुनु पर्ने हो , महोत्तरीकै भङ्गाहा नगरपालिका ५ माइती आएकी हरिप्रिया महतोले भन्नुभयो, नजिक घर (छिमेकको धनुषा जिल्लामा पर्ने गाउँ) थियो र म त माइत आएँ, भारत कमाउन गएका दाजु आउनु हुने भएन, दाजुसँग फोनमा कुरा गरेर नै यसपालि सन्तोष गर्नुपर्ने भयो । महामारीको ब्याधिले काममा टाढा गएका दाजुभाइसँग यसपालि पर्वमा भेट नहुने भएपछि फोनमै कुरा गरेर कुशल बुझेर चित्त बुझाउनु परेको धेरैजसो दिदीबहिनीको साझा कुरो बनेको छ । यद्यपि नजिक वरपर नै घर भएका विवाहित चेलीहरु घर वरपर नै रहेका (माइती गाउँ नजिक भएका) दाजुभाइलाई सम्झेर राखी को निम्ता दिँदैछन् ।
मिथिलामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्न आउने निम्ता दिने चलन छ । विवाहित दिदीबहिनीले आफ्नो र दाजुभाइको अनुकूलताअनुसार माइत पुग्ने वा आफ्नै घरमा चाड मनाउने टुङ्गो गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको त सँगै घर भएपछि यो समस्या रहँदैन । मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । दिदीबहिनीले राखी बाँधी दिएपछि दाजुभाइलाई खुवाइने मिष्टान्न परिकारबारे पहिलेदेखि नै योजना बनाउने गर्छन् ।
यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रायोजनका लागि केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउँछन् । कोरोना सन्त्रासले टाढाटाढा रहेका दाजुभाइ दिदीबहिनीबीच यसपालि भेट हुने सम्भावना कम भएको छ । यद्यपि पछिल्लो चरणमा लकडाउन हटेपछि नजिक रहेका दिदीबहिनी र दाजुभाइ भेटको चाँजो मिलाउने पक्कापक्की गर्दैछन् । पर्व नजिकिँदै गर्दा दाजुभाइ, दिदीबहिनी र राखीको कारोवार गर्ने व्यापारी सीमित नै भए पनि व्यस्तता बढेको देखिँदो छ । सार्वजनिक यातायात सञ्चालन नहुनु र कोरोना सङ्क्रमणको सन्त्रास कायम नै रहनुले यसपालि राखीको कारोवार भने मन्दी भएको व्यापारी बताउँछन् ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलीलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा बलीको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीचबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्ता झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ । यसपालि कोरोना सन्त्रासले यसमा अझ वृद्धि भएको यहाँका चेली बताउँछन् । पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाइ दिएपछि दाजुभाइले बस्त्रआभूषण र नगद दक्षिणास्वरुप चेलीलाई दिने मैथिल परम्परा छ ।
पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिरहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदायमात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आफूले दाजुभाइ मानेकालाई राखी बाँधीदिने गर्छन्
पछिल्ला दिनमा पर्व हिन्दू धर्मावलम्बीको भए पनि समाजमा हुने देखासिकी र आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै जानुले यो पर्व मिथिला क्षेत्रको साझा पर्व बनेको देखिन्छ । विगत वर्षका झै यसपालि महामारीको सन्त्रासले खुला वातावरण नभए पनि नजिक नजिक रहेका चेली र दाजुभाइले भने पर्वको तयारी अघि बढाएका छन् ।