मुख्य समाचार

ई-सेवाले अफरको नाममा जुवा खेलायो

ई-सेवाले अफरको नाममा  जुवा खेलायो

काठमाडौँ। प्रधानमन्त्री के पी शर्मा ओलीका आइटि सल्लाहकार अस्गर अलिको कम्पनी यफवन सफ्ट इन्टरनेसनलको अनलाइन पेमेन्ट गेटवे ई-सेवाले अफरको नाममा अनुमती नलिकनै चिठ्ठा/ जुवा खेलको घोषणा गरी ठगी गरिरहेको छ।  उक्त चिठ्ठामा सहभागी हुन रु ११ ई-सेवामार्फत तिर्नुपर्दछ। चिठ्ठामा सहभागी भई एकजना भाग्यशाली विजेताले रु ११ मा आईफोन ११ जित्न सक्नेछन साथै, थप ४० जना सहभागीहरुले इसेवा मार्फत गरिएको एक नयाँ कारोबारमा १००% क्यासब्याक (रु ५०० सम्म) प्राप्त गर्ने प्रोमो कोड प्राप्त गर्ने छन्। कम्पनिका अनुसार असार ८ देखि असार ३१ सम्म ई-सेवा जुवा खेल्न सकिने छ।  
 
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँका अनुसार यो कार्य बिज्ञापन नियमन ऐन र उपभोक्ता संरक्षण ऐन, २०७५ बिपरित रहेको छ।  बिज्ञापन नियमन ऐनका अनुसार जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको  चिठ्ठा  किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा, विज्ञापन गर्न हुदैन। कसैले यस ऐनको विपरीत विज्ञापन गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ । त्यस्तो कसूर गर्ने गराउनेलाई सो कसूर गरे बापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नु पर्नेछ र सो नभएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्नु पर्नेछ । 

यसैगरी उपभोक्ता संरक्षण ऐन, २०७५ का अनुसार कसैले पनि अनुचित व्यापारिक र व्यवसायजन्य क्रियाकलाप गर्न वा गराउन हुँदैन। कसैले उक्त क्रियाकलापहरू गरेमा अनुसूचित ब्यापारिक तथा व्यवसाय जन्य क्रियाकलापमा मानिनेछ।  झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने कार्य  अनुचित व्यापारिक र व्यवसायजन्य क्रियाकलाप पर्दछ। यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम कारबाही गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म  जरिमाना वा दुवै सजाय हुनेछ। 

एलेक्साको रेंक अनुसार ई-सेवा नेपालको ३७औ लोकप्रिय वेबसाइट हो। ई-सेवाको एप एन्ड्रोइड र आइओयसमा १०  लाख भन्दा बढी डाउनलोड भइसकेको छ।  ई-सेवाले लाखौ मानिसहरूबाट पैसा जम्मा गरी एउटा आइफोन र केही क्यास ब्याक  दिएर महिनौँसम्म लाखौ प्रयोगकर्ताका करोडौं पैसा उपभोग गर्नेछ। प्रधानमन्त्रीको संरक्षणमा  ई-सेवाले ठगी गरिरहेको कतिपयको बुझाइ छ।

(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

विशेष