कभर स्टोरी

के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र र नेकपाका अध्यक्ष प्रचण्डका नाति नातिनीहरु ?

के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र र नेकपाका अध्यक्ष प्रचण्डका नाति नातिनीहरु ?

विजया ढुंगेल

राजतन्त्रको समयमा नेपालको राजपरिवार अत्यन्त शक्तिशाली थियो । राजतन्त्रको अन्त्यसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो। नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शक्तिशाली नेताको रुपमा उदय भए ।  पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष प्रचण्डको परिबारलाई शक्तिशाली राजनैतिक परिबारको रुपमा लिईन्छ । बेलाबेला राजतन्त्रको पुनर्स्थापनाको चर्चा पनि चल्ने गरेको छ र प्रचण्ड गणतान्त्रिक नेपालको सबैभन्दा शक्तिशाली नेताको रुपमा स्थापित छन् ।  यही सेरोफेरोमा पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष प्रचण्ड यी दुई परिबारको उत्तराधिकारीको पनि चर्चा हुने गरेको छ ।  

नेकपा अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको दुखद मृत्यु भैसकेको छ ।  पूर्व युबराज पारस शाह भने राजकाजमा भन्दा अन्यत्र ब्यस्त छन ।  त्यसैले अब पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष प्रचण्डका नाति नातिनाहरुलाई  उत्तराधिकारीको रुपमा चर्चा हुने गरेको छ । उनीहरुको विषय रहस्यको रुपमा हुने गर्दछ । उत्तराधिकारीको रुपमा चर्चा गरिएका नाति नातिनीहरु भने आम नागरिक सरह अध्ययन, सामाजिक संजाल, गीतसंगीत आदिमा ब्यस्त देखिन्छन् । 

हिमानी शाहको हिमानी कोषमा संलग्नता भएसँगै उनले थुप्रै सामाजिक कार्यहरु सम्पन्न गरिसकेकी छिन् । २०१७ मा पर्सा र बारामा बाढी राहत, भक्तपुर, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, सोलुखुम्बुमा भूकम्प राहत कार्यक्रम ,२०१४ मा रक्तदान कार्यक्रम जस्ता अरु थुप्रै सामाजिक कार्यहरु गरेर उनले नाम कमाएकी छिन् । 

पारस शाह र हिमानी राज्यलक्ष्मीदेवी शाहका तीन सन्तान छन् जसमा जेठी छोरी पूर्णिका राज्यलक्ष्मीदेवी शाह, जेठा छोरा हृदयन्द्र वीरबिक्रम शाह र कान्छी छोरी कृतिका राज्यलक्ष्मीदेवी शाह हुन् ।

पूर्व राजा ज्ञानेन्द्रका थुप्रै नाति नातिनीहरु भएतापनि पारस शाहका छोराछोरीहरु बढी चर्चित भएका कारण हामीले उनीहरु अहिले के गर्दैछन् भन्ने जानकारी तल दिएका छौँ । उनीहरु बुवा पारस शाहसंग बेलाबेला भेटीरहन्छन । आमा हिमानी राज्यलक्ष्मीदेवी शाह र पूर्वराजा  ज्ञानेन्द्र शाहले उनीहरुको रेखदेख गरिरहेका छन् । 

नातिनी पूर्णिका शाहः

पूर्व राजकुमार पारस शाह र राजकुमारी हिमानी शाहकी छोरी पूर्णिका शाहको जन्म डिसेम्बर १२, २००० सालमा भएको थियो । हाल उनी थाइल्यान्डमा अध्ययन गरिरहेकी छिन् । उनी अन्तराष्र्टिय व्यापारमा स्नातक गरिरहेकी छिन् । उनी १९ वर्षकी भएपनि उमेरभन्दा बढी परिपक्क देखिन्छिन् । उनी बेलाबेलामा सामाजिक संजालमा पनि चर्चामा आइराख्छिन् । बेलाबेलामा उनी आफ्नो प्रेमी को हुन् भन्ने विषयका कारण चर्चामा आइराख्छिन् । आफ्नी आमा र बहिनीका साथ गरेको नाचगान र थुप्रै रमाइला क्षणहरु उनी टिकटक मार्फत सार्वजनिक गर्छिन् ।

नाति हृदयन्द्र वीरबिक्रम शाहः

हृदयन्द्र वीरबिक्रम शाह भने प्रिन्स सेलिब्रिटीका रूपमा परिचित छन् । उनको जन्म जुलाई ३०, २००२ काठमाडौंमा भएको थियो । हृदयन्द्र अहिले १८ वर्षको भए । आमा हिमानी शाह र दिदी बहिनीको साथ थाइल्यान्डमा बसोबास गर्दै आएका हृदयन्द्र पहिले रुपिस इन्टरनेश्नल स्कुलमा पढ्थे भने अहिले कलंकीस्थित लिङ्कन कलेजमा पढ्छन् । उनी टिकटकमा निकै चर्चित छन् र थुप्रै युवतीहरु उनी भनेपछि मरिहत्ते गर्छन् । उनी आफ्नो रुपको कारण पनि निकै चर्चामा आएको देखिन्छ । भविष्यमा राजकाज सम्हाल्नुपर्ने  हुनसक्ने भएकोले उनको शिक्षा बिशेष रुपमा हुने गरेको बताईन्छ ।

नातिनी कृतिका शाहः

पूर्व राजकुमार र राजकुमारीकी कान्छी छोरी कृतिका शाहको जन्म अक्टोबर १६, २००३ मा नारायणहिटी दरबारमा भएको थियो । रुपिस इन्टरनेश्नल स्कुलमा पढेकी कृतिका अहिले उच्च शिक्षाको लागि थाइल्यान्डमा छिन् । १७ वर्ष पुगेकी चन्चल स्वभावकी कृतिका पछिल्लो समय टिकटक भिडियो बनाउन व्यस्त छिन् । पूर्णिका शाह र कृतिका शाह आफ्नी आमा हिमानी शाहका साथ थुप्रै टिकटक बनाउने गरेको पाइन्छ । दिदीबहिनीको सम्बन्ध पनि निकै राम्रो छ भन्ने कुरा उनीहरुको व्यवहारबाट प्रस्ट हुन्छ । 

पुष्पकमल दाहालका छोरीहरु गंगा दाहाल प्रचण्डको सचिबालयमा छिन् र रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर छिन। गंगाले प्रचण्डको सहयोगीको रुपमा काम गर्छिन । बुहारी सिर्जना त्रिपाठी पार्टीको काममा ब्यस्त छिन् र अर्की बुहारी भने  बिना मगर खानेपानी मन्त्री छिन । छोरीहरु र बुहारीहरूलाई उत्तराधिकारीको रुपमा पनि लिने गरिन्छ र उनीहरु बीच नै प्रचण्डको उत्तराधिकारी को बन्ने भन्ने प्रतिस्पर्धा रहेको बताइएको छ । तेस्रो पुस्ताका थुप्रै नाति नातिनीहरु मध्य गंगा दाहालकी छोरी र प्रकाश दाहालका दुई छोराको हामीले चर्चा गरेका छौं ।

नातिनी स्मिता दाहालः 

गंगा दाहालकी छोरी स्मिता दाहाल चर्चित गायिका हुन् । उनी ११ वर्षदेखि नै गीत संगीतको क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले आजसम्म थुप्रै गीत संगीतमा आफ्नो स्वर दिइसकेकी छिन् । गीतकार योगेन्द्रमणी दाहालको एकल शब्द, सुनिल मास्केको एकल संगीत तथा अमुल कार्कीको एकल संगीत संयोजन रहेको रागिनी मार्फत उनले अझ बढी चर्चा कमाएकी छिन । उनले जालमै पार्छु , कल्लाई था छैन , मलाई आमाले दिएको मायालु तिमी कता छौ  जस्ता थुप्रै गीतहरु गाइसकेकी छिन् । अहिले उनको नयाँ गीत मायालु तिमी कता छौ २ तीन साता अगाडी मात्र रिलिज भएको छ जसले गर्दा उनी अहिले चर्चामा आइराखेकी छिन् ।

नाति प्रसिद्ध दाहालः

छोरा प्रकाश दाहाल र बुहारी श्रृजना त्रिपाठीको एक मात्र पुत्र प्रसिद्ध दाहाल हुन् । जन्म दर्ता तथा नाता प्रमाणित नगरिएको हुनाले प्रसिद्धलाई प्रकाश पुत्र भनेर औपचारिक रुपमा मान्यता नदिइएको भन्दै आमा श्रृजना त्रिपाठीले बेलाबेलामा विरोध गर्ने गरेकी थिइन् । प्रकाश दाहालको असामयिक निधनपछि नाति प्रसिद्ध दाहाललाई प्रचण्डले आफूसँगै राखेर बुहारीलार्ई भने माइत पठाइएको खबर निकै चर्चामा  आएको थियो । ७ वर्षको उमेरमा नै बुबा गुमाएका प्रसिद्ध अहिले दस वर्षका भइसकेका छन् ।

नाति प्रसिद्ध बेलाबेलामा आफ्नो र ममीको तस्बिर फेसबुकमार्फत सेयर गरिराखेका हुन्छन् । उनलाई प्रचण्डको उत्तराधिकारीको रुपमा लीइन्छ र त्यसै प्रकारको शिक्षा दीक्षा दिईरहेको बताईन्छ ।  

बुहारी श्रृजना त्रिपाठीसँग प्रचण्डको समन्ध सुमधुर रहेको छ । प्रचण्डले विशेष रुपमा प्रसिद्धको हेरचाहको व्यवस्था गर्ने गरेका छन् । 

नाति प्रनव दाहालः 


प्रकाश दाहालले पत्नी श्रृजना त्रिपाठी हुदाँहुदै बिना मगरसँग विवाह गरेका थिए । प्रनव दाहाल उनीहरुका छोरा हुन् ।

प्रकाश दाहालको निधनपछि श्रृजना त्रिपाठीका छोरा प्रसिद्ध दाहाल र बिना मगरका छोरा प्रनव दाहालको पहिलो भेट लाजिम्पाटमा भएको थियो ।

बुबाको निधन हुँदा ३ वर्षका बालक प्रनव दाहाल अहिले ६ वर्षको भएका छन् ।

विशेष