मनोरञ्जन

‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण हुँदै

‘खै के खै के’ नामक व्यङ्ग्य टेलिफिल्म निर्माण हुँदै

झापा। कोरोनाका कारण निराश भएर घरभित्रै बन्दी बनेका बच्चादेखि बूढासम्मलाई हसाउने र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले खै के खै के नामक व्यङ्ग्य टेलिफिल्म निर्माण भइरहेको छ ।

झापा भद्रपुर नगरपालिका ९ निवासी कृष्ण अनमोलले गाउँघरमै भइरहेका समसामयिक घटना र कोरोनालाई विषयवस्तु बनाएर टेलिफल्मको निर्माण गर्नुभएको हो ।
लामो समयदेखि सिनेमा, नाटक र भिडियो गीतको निर्देशनमा लाग्नुभएका अनमोल भन्नुहुन्छ, राम्रो कथावस्तु, चर्चित कलाकारहरु र उत्कृष्ट निर्देशनका कारण खै के खै के आम नेपाली दर्शकका सामु एउटा उत्कृष्ट उपहार बन्नेछ । आजकल मानिसलाई मुख र नाक छोप्नेगरी मास्क लगाउन कोरोना महामारीले बाध्य बनाएको छ । तर गाईभैँसी र बाख्रालाई मुखारी लगाउने चलन भने हाम्रा पुर्खाले सयौँ वर्षअघिदेखि चलाएका बताउँदै उहाँ भन्नुहुन्छ, बाख्रालाई बाली नखाओस् भनेर मुखारी लगाउने यही रोचक पटकथालाई दृश्यमा देखाउँदैछौँ ।

निर्देशक अनमोलका अनुसार खै के खै के मा प्रसिद्ध गायक श्रीकृष्ण लुइँटेल, प्रसिद्ध अभिनेता सुभाष मेचे, विपीन प्रसाईँ, विमला चिमरिया, भुपाल परियार, मधु न्यौपानेलगायतको अभिनय रहेको छ । मेचीनगर र भद्रपुर नगरपालिकाका विभिन्न स्पटमा सुटिङकार्य भइरहेको यस टेलिफिल्मको अरु सुटिङ झापा र इलामका नै हुने उहाँको भनाइ छ । झापाको हिमशिखर टेलिभिजनबाट यसको नियमित प्रसारण हुने उहाँले जानकारी दिनुभयो । यसमा सङ्गीत अशोक थापा, स्वर श्रीकृष्ण लुइँटेल, शृङ्गार कृष्ण सुवेदी र क्यामेरा ज्ञानेन्द्र कोइरालाको रहेको छ । उहाँले एक वर्षभरि प्रसारण गर्न सकिने गरी टेलिफिल्म निर्माणका लागि निर्माता जेके जगत् र सरु जेकेसँग सम्झौता गरको बताउनुभयो । निर्देशक अनमोलले हाल अमेरिकामा रहेका निर्माताहरुले लगानीको सम्पूर्ण भार व्यहोर्ने बताउनुभयो । (रासस)

विशेष