प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु
विक्रम गिरी
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।
भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।
प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना सङ्क्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १० वर्ष मुनिका उमेर समूहका सङ्क्रमित मर्नेको सङ्ख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् ।
यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।
नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । शुक्रबार देशभर ९२७ जना कोरोना सङ्क्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए । प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी सङ्क्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौँ, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना सङ्क्रमित मुक्त जिल्ला हुन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४२२, प्रदेश नं २ मा तीन हजार ८६२, वाग्मती एक हजार ६१२, गण्डकी प्रदेश १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नं ५ मा १७ सङ्क्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताउनुभयो ।
शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् ।
कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५७४, प्रदेश नं २ मा पाँच हजार ६५३, वाग्मती प्रदेश ५५४, गण्डकी प्रदेश ४४५, प्रदेश नं ५ मा एक हजार ५००, कर्णाली प्रदेश ४१५ तथा सुदूरपश्चिममा ८९४ जना रहेको छ ।
यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार ५३६, प्रदेश नं २ मा चार हजार ५१७, वाग्मती प्रदेश ९६६, गण्डकी प्रदेश एक हजार ६८८, प्रदेश नं ५ मा चार हजार ७०८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७८९ जना रहेको छ । (रासस)