स्वास्थ्य

महाकाली अस्पतालमा आइसियु सेवा शुरु

थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ

महाकाली अस्पतालमा आइसियु सेवा शुरु

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष आइसियु सेवा शुरु भएको छ । प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ ,उहाँले भन्नुभयो यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन । अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा उहाँले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको पनि शुभारम्भ गर्नुभयो ।

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पु¥याइने बताउनुभयो । उहाँले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताउनुभयो । “अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो “आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ ।”

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । “अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग, प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । (रासस)

विशेष