बकुलहर अस्पतालमा पिसिआर मेसिन
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा १५ दिन भित्रमा पिसिआर मेसिन जडान गरिने भएको छ । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले रत्ननगरसहित पाँच ठाउँका अस्पतालमा पिसिआर मेसिन जडान गरिने जानकारी दिनुभएको छ ।
उहाँले सिन्धुली, भक्तपुर, नुवाकोट र हेटाँैडामा पनि पिसिआर मेसिन जडान एवं थप गर्न लागिएको बताउनुभयोे । उहाँले भन्नुभयो, “हामीले चारवटा खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौँ । एउटा सङ्घीय सरकारले दिँदैछ ।”
पिसिआर जडान गरिने अस्पतालमा संरचना निर्माण र कर्मचारी व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले पिसिआर मेसिन जडान हुने रत्ननगर बकुलहर अस्पतलामा संरचना निर्माण र सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको जनाएको छ ।
यस्तै भरतपुर महानगरपालिकालाई उपकरण खरिद र आइसोलेसन सञ्चालनका लागि सहयोग गर्न लागिएको मन्त्री दुलालको भनाइ छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले रत्ननगर बकुलहर अस्पतालमा पिसिआर मेसिन जडानका लागि प्रदेश सरकारसँग अनुरोध गरेका थिए । स्वाब परीक्षणको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट नतिजा आउन एक साताभन्दा बढी समय लागेपछि त्यहाँ पिसिआर प्रयोगशाला सञ्चालन गर्न स्थानीय तह जुटेका हुन् ।
रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले पिसिआर मेसिन आउने भएपछि ठाउँ र कर्मचारीको व्यवस्थापन अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अस्पताल प्रदेश सरकार मातहत भएकाले प्रदेशको निर्देशनअनुसार अब काम अघि बढाउँछौ ।” पिसिआर मेसिन जडान भएसँगै कोरोना रोग नियन्त्रण, रोकथाम र उपचारमा सहयोग हुने राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका चारवटा नगरपालिकाले सामूहिक रुपमा आइसोलेसनसमेत सञ्चालन गर्दै आएका छन् । रासस