सरकारको राष्ट्रिय आकाङ्क्षालाई कर्मचारी पूरा गर्नुपर्ने ः मन्त्री त्रिपाठी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको समृद्ध नेपाल, सुखी नेपालीको मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । आज १७औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले तय गरेका समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई पूर्णरुप प्रदान गरी राष्ट्रको समृद्धि र सुशासन कायम राख्न निजामती कर्मचारी सक्षम, प्रविधिमैत्री, अनुशासित, मर्यादित र कामप्रति प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
उहाँले देशको समग्र विकास र नागरिकको सेवामा समर्पित कर्मचारी स्थायी सरकारका रुपमा काम गर्दै सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक तुल्याउनुपर्ने बताउनुभयो । मन्त्री त्रिपाठीले यस वर्ष कोभिड–१९ का कारणले सरकारले लक्ष्य गरेबमोजिमको उद्देश्य हासिल गर्न नसके पनि यस रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको अग्रपङ्क्तिमा रहेर निजामती कर्मचारीले अतुलनीय योगदान गरेको स्मरण गर्नुभयो ।
उहाँले राजनीति र प्रशासनबीच पछिल्लो समयमा विभिन्न मतभेद रहेपनि राजनीति र प्रशासनको स्पष्ट सीमारेखा तय गरी राज्यको समग्र विकासमा दुवै पक्ष अगाडि बढेमा राष्ट्रको बृहत्तर हित हुने बताउनुभयो । राजनीतिक नेतृत्वले लिएको लक्ष्य एवं उद्देश्य प्राप्तिमा राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीमा सदैव अग्रसर हुन सकेमा स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको श्रीवृद्धि गर्न दिवसले सबैलाई उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निजामती सेवालाई थप व्यावसायिक, स्वच्छ, सक्षम, पारदर्शी, निष्पक्ष, भ्रष्टाचाररहित, जनमुखी र परिमाणमुखी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा मन्त्री त्रिपाठीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीमा उच्च मनोबल कायम राख्न विद्यमान सेवा, शर्त, वृत्ति विकास र अवसरमा विभेद नहुने गरी संसद्मा विचाराधीन रहेको सङ्घीय निजामती सेवा ऐन जारी गर्ने र त्यसकै मार्गदर्शनमा रहेर प्रदेश निजामती एवं स्थानीय सेवा ऐन जारी गर्नेसमेत बताउनुभयो ।
यस वर्षको ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस आज मनाइँदैछ । सरकारले निजामती सेवा ऐन २०१३ भदौ २२ गते जारी भएको दिनको सम्झानामा दिवस २०६१ सालदेखि मनाउँदै आएको छ । (रासस)