कविता–यो विश्वले जित्दछ
चन्दा पराजुली
नाना रुप रङ्गका कति यहाँ आए अहो रोग नै ।
बस्नै हुन्न त्यसै मनुज हो गर्दै यहाँ शोक नै ।।
मान्छे नै यदि हार्दछन् जगतले खै के कुरा सिक्दछ ।
कोरोनासँग लड्नै पर्दछ यहाँ यो विश्वले जित्दछ ।।
हावा चल्छ उडाउला कि त गरी रोकिन्न यात्रा तर ।
के नै गर्न सकोस र भाइरसले बन्छौ अझै सुन्दर ।।
धेरै ज्ञान सिकाउला समयले नौलो अझै सिक्दछ ।
कोरोना जति चम्किय पनि यहाँ यो विश्वले जित्दछ ।।
माया मोह अनन्त छन भुवनमा ती हुन नयाँ शक्ति नै ।
बाँच्ने मानिसले सदैव युगमा जन्माउला जुक्ति नै ।।
चाँहे छोप्न परोस सदा मुख यहाँ हो चित्तले बोल्दछ ।
कोरोना जति उफ्रिए पनि यहाँ यो विश्वले जित्दछ ।।
साना राष्ट्रहरु समेत नभनी आयो अहो निर्दयी ।
ठुला देश भनेन हेर किनहो जो मुर्ख जस्तै भई ।।
मान्छे छन् सुविवेकपुर्ण भवमा के गर्न त्यो सक्दछ ।
कोरोनासँग मित्रता भइसक्यो यो विश्वले जित्दछ ।।
बोलाए पनि कालले जतिसुकै भो जान्न कोही अब ।
बेला नै नभई कुनै मनुज भो ओइलाउदैनन् जब ।।
मान्छे उन्नतिको चढी शिखरमा उन्मुक्तले हाँस्दछ ।
कोरोना अब झुक्छ है तल नुही यो विश्वले जित्दछ ।।